जीवन Travel देश समाचार 

नेपालमा किन हुन्छ धेरै सडक दुर्घटना?, यी हुन ८ कारणहरु

नेपालको अधिकाँस सडक साँघुरो र घुमाउरो र भौगोलिक बनावट अनुसार नै बनेका बाटा । भिरालोमा भिरतिरै कोल्टे परेको, उकालोमा ठाडो उकालो, पहाडी बाटाहरुमा थुप्रै घुम्ती । सडकमा कतै कतै मात्र ट्राफिक चिन्ह र साइनबोर्ड । त्रिशुली नदी किनारको सडक भएर यात्रा गर्दा चालक र यात्रुको मनमा त्रास भैरहन्छ ।

तराई देखी पहाडका जिल्लाहरुलाई राजधानी काठमाडौंसम्म जोड्ने यो सडकमा दैनिकजसो दुर्घटना भैरहेको छ । कहिले रात्री बस खस्छ, कहिले मालवाहक ट्रक, कहिले प्राईभेट जीप ।

त्रिशुलीमा खसेर कति बेपत्ता भए भन्ने अझै लेखाजोखा छैन । आज मात्रै देशका विभिन्न स्थानमा दर्जन बढी सडक दुर्घटना भएका छन् । चाडपर्व नजिकिदै गर्दा यात्रुहरुको चहलपहल बढ्छ र सडक दुर्घटनाका घटना पनि हरेक बर्ष बढ्छन । बार्षिक हजारौंले ज्यान गुमाउँछन् । सडक दुर्घटनाका के हुन् कारण? कसरी गर्न सकिएला न्यूनिकरण?

धेरै सडक दुर्घटना हुनुका आठ कारण

१ सडकको अवस्था
अहिलेसम्म नेपालमा सबै प्रकारका (कालोपत्रे, खण्ड सहित र कच्ची)सडकको कुल लम्बाइ ७० हजार ६ सय किमि पुगेको छ । ती सडकमध्ये करिब २५ हजार किमि सडक वर्षभर नै यातायात सञ्चालन योग्य छन् । त्यसमध्ये ११ हजार किमिमा मात्र कालोपत्रे गरिएको छ । हामीकहाँ कुनै पनि सडकको ट्रयाक खोल्नेबित्तिकै सवारी सञ्चालन गरिन्छ । प्राविधिक रूपमा ‘अनफिट’ सडकमा दुर्घटनाको उच्च जोखिम हुन्छ ।

२ ‘रोड सेफ्टी अडिट’ र ‘ब्ल्याक स्पट’ न्यून, सानो
सुरक्षामा केन्द्रित भई व्यवस्थित तरिकाले सडकको जाँच गर्ने विधि नै सडक सुरक्षा परीक्षण(रोड सेफ्टी अडिट) हो । यसरी जाँच गर्दा सडकमा हुन सक्ने सम्भावित खतरालाई पहिचान गर्ने र समाधान गर्ने गरिन्छ । तर, नेपालमा कुल सडकमध्ये मुस्किलले २ प्रतिशतमा मात्र अडिट गरिएको छ । यसको साथै ब्ल्याक स्पट चिनाउने अध्ययन पनि कम हुने गरेको छ । भने बनेका सेफटी अडिट पनि सानो हुने गरेका छन् ।

३ सवारीसाधनको अवस्था
०५६ मा सरकारले उत्पादन मितिले २० वर्षभन्दा बढी भएको कुनै पनि सवारीको दर्ता हेरफेर र नामसारी गर्न नपाउने व्यवस्था गरेको छ । साथै, यस्ता सवारीसाधन अनिवार्य पत्रु गर्नुपर्नेछ । तर, व्यवसायीले तोकिएको अवधि नाघेका सवारीसाधन पत्रु गर्ने गरेका छैनन् । यातायात व्यवस्था विभागले पनि अनुगमनमा कडाइ गर्न सकेको छैन । यसकारण पुराना सवारीसाधनको ब्रेक तथा अन्य मेसिन विग्रिँदा वा काम नगर्दा पनि दुर्घटनामा पर्ने गरेका छन् ।

४ सवारीचालकको (अ)दक्षता र (कम)अनुभव,
नेपालमा अझैसम्म व्यावसायिक र गैरव्यावसायिक भनेर चालकलाई वर्गीकरण गरिएको छैन । यस्तो निश्चित मापदण्ड नहुँदा व्यावसायिक रूपमा सवारी चलाउने काम नगर्नेले पनि सवारी चलाउँदा दुर्घटना हुने गरेका छन् । किनकि उसमा अनुभवको कमी हुने नेपाल ट्राफिक इन्जिनियर हरूको भनाइ छ । यसको साथै, ट्राफिक संकेत बुझ्न सक्ने क्षमताको जाँच र शैक्षिक योग्यता अझै तोकिएको छैन । कतिपय यात्रुबाहक सवारीमा कम उमेरका व्यक्तिले चलाउने र चलाउनमा दक्षता नहुँदा दुर्घटना हुने गरेका छन् भने चालकले मादक पदार्थ सेवन गरेर सवारी साधान चलाउदा समेत दुर्घटना बढ्ने गरेको छ ।

५ यात्रुको ढिपी
यात्रुको ढिपीका कारण पनि सडक दुर्घटना हुने गरेको ट्राफिक इन्जिनियरहरूको भनाइ छ । गन्तव्यसम्म पुग्न चालकलाई दबाब दिने, छिटो हाँक्न लगाउने लगायत व्यवहारले पनि दुर्घटनालाई निम्त्याइरहेको छ ।

६. क्षमताभन्दा बढी यात्रु
देशका विभिन्न ठाँउमा भएका दुर्घटनामा देखिने एउटा ‘ट्रेन्ड’ क्षमताभन्दा बढी यात्रु बोक्नु हो । प्राविधिक रूपमा सक्षम नरेहका सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा सवारीसाधनले सन्तुलन गुमाउँदा दुर्घटना हुने गरेको पाइन्छ ।

७. तीव्र गति
सडक विभागले गरेको अध्ययनले सवारीसाधनको तीव्र गतिलाई पनि दुर्घटनाको कारण मानेको छ । सडक निर्माण गर्दा निश्चित गति तोकिएको हुन्छ । जबकि चालकले सो मापदण्ड तोडेर सवारी हाँक्दा पनि दुर्घटना भएको छ । त्यस्तै, सवारीसाधन चलाउँदा अन्य विषयमा ध्यान केन्द्रित गर्दा, क्षमताभन्दा बढी भार बोकाउँदा र मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा पनि दुर्घटना हुने अध्ययनले देखाएका छन्।

८ अन्य कारण
वर्कसपको मापदण्ड व्यवस्थित गरिएको छैन । सडक र सवारीसाधन नियमित गर्ने ऐ– नियम समय सापेक्षित छैनन् । त्यस्तै, सडक विभागले गरेको अध्ययनले ड्राइभरको ‘ड्राइभिङ ह्याबिट’ परिवर्तन नभएको देखाएको छ । यसले पनि दुर्घटना बढाएको छ । साथै, सडकको मर्मत समयमा हुने गरेको छैन ।

किन फेला पदैनन् त्रिशुलीमा खसेका सवारीसाधनहरु?
नेपालका नदीहरु जस्तै त्रिशुली नदी पनि खोंच र पहराको कुना हुँदै बगेको छ । यो नदीको किनार भएर जाने धेरै सडकखण्ड बढी दुर्घटना हुने स्थलको रुपमा चिनिन्छ । दासढुङ्गा वा घोप्टेभिर जहाँ दुर्घटना भएपनि खस्ने त्रिशुलीमा नै हो ।

वर्षायाममा नदीको बहाव बढी हुने भएकोले त्रिशुलीमा बेपत्ता हुनेहरु भेटिने सम्भावना कम हुने उद्धारकर्ता बताउँछन् । गाडी खस्दा गाडीको पाङ्ग्रा झरेको छैन भने त्यसभित्रै रहेकाको खोजी कार्य गर्न निकै कठिन हुने उद्धारमा खटिनेहरुके अनुभव छ । ‘पाङ्ग्रा सहितको गाडी यति ठूलो पानीको बहावले सजिलै बगाउने हुँदा कताको खोंचमा लगेर अड्काउँछ भन्न नसकिने उनिहरु बताउछन् । तर गाडीबाट उछिट्टिएको अवस्थामा भने भेटिने गरेको उनिहरुको । त्रिशुलीमा गाडी खस्दा केही यात्रुको शव नवलपरासीको त्रिवेणी बाँधमा भेटिने गरेको गरेको समेत स्थानिहरु बताउछन् ।

पानीभित्र खोज्ने गोताखोर पनि समुद्र जस्तो शान्त भएर बग्ने पानीभित्र मात्र जाने भएकाले यहाँका नदीखोलामा गोताखोरले पनि पत्ता लगाउन गाह्रो हुने तारानाथ चपाइ गोताखोर बताउछन् ।

कसरी खोजी गरिन्छ बेपत्ता भएकाको?
बेपत्तालाई खोज्ने उपाय भनेको दुर्घटनास्थलबाट नदीको बहाव स्थलसम्म हो । गोताखोर एउटा उपाय हो तर नेपालको नदीमा गोताखोर पानी भित्र नै गएर खोज्न सक्ने अवस्था नभएको गोताखोर शसस्त्र प्रहरीका हवल्दार तारानाथ चपाइको भनाई छ । ‘कुना तथा खोंचमा गएर डुबेको छ भने त त्यो खोजी कार्य गर्नै सकिंदैन जहाँ मानिस जानै सक्दैन त्यहाँ कसरी खोजी गर्ने’ उनले भने ।

¥याफ्टिङ वा डुङ्गाको माध्यमबाट नदीमा डुबेका गाडीलाई खोज्ने हो, गाडी बाहिर हो भने त लाशलाई त बगाएर लगिहाल्छ नि’ उहाँ भन्नुहुन्छ । डुङ्गामा हुक राखे हुकमा चुम्बक लगाएर चुम्बकको माध्यमबाट गाडीलाई पानीबाट बाहिर निकाल्न सकिन्छ, यदि गाडी छ भने ।

त्रिशली नदीको बहाव
त्रिशुली नदीको उद्मग स्थल रसुवाको गोसाईं कुण्ड हो । यो रसुवा, नुवाकोट हुँदै धादिङको बेनिघाटमा पुगेपछि बुढी गण्डकी नदी मिसिन्छ । मुग्लिनमा मस्र्याङदी तथा मुग्लिन र जलबिरे बीचको गाईघाटमा सेती नदी मिसिएको छ भने देवघाटमा काली नदी मिसिएपछि त्रिशुली नदी नारायणी नदीको रुपमा चिनिन्छ । जसको अन्त्य नवलपरासीको त्रिवेणीमा गएर हुन्छ ।

त्यसैले त्रिशुलीमा खसेका मानिसको लाश भेट्ने सम्भावना नवलपरासीको त्रिवेणीमा मात्र छ । जहाँ भारतले बिजुली निकाल्न बाँध बनाएको छ । यसअघि कतिपयको शव यहाँ भेटिएको थियो । तर कतिपय अवस्थामा भने त्रिशुलीको खोंच र अन्तरमै गाडी अड्किने भएकाले बेपत्ता भएकाहरुको अवस्था पत्ता लाग्न गाह्रो हुन्छ ।

Facebook Comments Box

Related posts