Technology Travel अन्तर्राष्ट्रिय जीवन देश समाचार समाज 

अब नेपाल एअरलाइन्सले दुबईमा हप्तामा ९ उडान भर्ने

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले दुबई गन्तव्यमा उडान विस्तार गरेको छ । एअरलाइन्सले दुबईमा हप्तामा सात उडान गर्दै आएकाेमा आज आइतवारदेखि थप दुई उडान थपेर हप्तामा नौ उडान भर्ने भएको हो ।

दुबई गन्तव्यमा थपिएको उडानमा सवार यात्रुलाई शुभकामना र निगम परिवारलाई हौसला प्रदान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीको पनि त्यस अवसरमा सहभागिता थियो ।

त्यस अवसरमा पर्यटनमन्त्री आलेले निगमका जहाजलाई बढीभन्दा बढी गन्तव्य विस्तार गरी उडान थपेर सेवा दिन निगम नेतृत्वलाई निर्देशन दिनुभयो । उहाँले निगमका जहाज ग्राउन्डेड भन्दा आकाशमा उडिरहने वातावरण बनाउन र गन्तव्यमा उडान थप्नेतर्फ जुट्न निगम व्यवस्थापनलाई अनुरोध गर्नुभयो ।

निगमका कार्यकारी अध्यक्ष अधिकारीले पर्यटनमन्त्रीले निगम सुधारका लागि देखाउनुभएको तदारुकताले निगमका कर्मचारीमा हौसला र नयाँ ऊर्जा पैदा भएको र यसलाई परिणाममुखी बनाउन लागिपर्ने बताउनुभयो ।

दुबईमा वैदेशिक रोजगारी तथा व्यवसायलगायत विभिन्न सिलसिलामा रहेका नेपालीको बाहुल्यता छ । थपिएको उडान हप्ताकाे आइतवार र बुधवार गरिनेछ । यो दिन दैनिक दुई उडान हुनेछ । काठमाण्डाैबाट बिहान ११ बजे उडेको जहाज दुबईमा उडान भरेर बेलुका काठमाण्डाै नै फर्किनेछ । व्यापारिक हिसाबले पनि निगमका लागि दुबई उपयोगी गन्तव्य मानिन्छ । एअरलाइन्सले भारतको नयाँ दिल्लीमा सात उडान गर्दै आएकोमा अब थप सात उडान थपेर दैनिक दुई उडानका दरले हप्तामा १४ उडान भर्ने तयारी गरेको छ । एअरलाइन्सले अहिले दोहामा पाँच उडान गरिरहेको छ ।

नेपाल एअरलाइन्सले नेपाली श्रमिकको बाहुल्यता रहेको साउदी अरेबियामा पनि छिट्टै उडान सञ्चालन गर्ने गरी अन्तिम तयारीमा जुटेको छ । निगमका अनुसार साउदी अरेबियाको रियाद र दमाम गन्तव्यमा हप्तामा दुई उडान गर्ने गरी तयारी भइरहेको छ । महिना दिनभित्रै उडान सञ्चालन गरिने जनाइएको छ ।

नेपाल एअरलाइन्सले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारोबडी ए ३२० र दुई थान बाइडबडी ए ३३० जहाज छन् ।

Facebook Comments Box

Related posts