Technology World जीवन देश राजनीतिक समाचार समाज स्वास्थ्य / टिप्स 

कोरोनाविरुद्धको खोप लगाउने काम सुस्त, एक करोड १८ लाख मात्रा भण्डारणमा थुप्रियो

नेपालमा कोरोना भाइरस विरुद्धको खोप भित्रिने क्रम बढे पनि लगाउने क्रम भने सुस्त रहेको छ । सरकारले खोप लगाउने कामलाई तीव्र रूपमा अगाडि नबढाउँदा कोरोनाविरुद्धकाे खोप भण्डारमा थुप्रिँदै जान थालेको छ ।

सरकारले एकै दिन तीन लाखभन्दा बढी नागरिकलाई खोप लगाउन सक्ने बताए पनि पछिल्लो केही दिनयता खोप लगाउनेको सङ्ख्यामा कमी आएको छ । अहिलेसम्म नेपालमा तीन करोड ८५ लाख ३९ हजार मात्रा खोप आएकोमा एक करोड १८ लाख मात्रा खोप भण्डारणमा रहेको छ ।

गएको मङ्गलवार दुई लाख ४७ हजार आठ सय १४ जनाले कोरोनाविरुद्धको खोप लगाएका थिए । यस्तै हिजो बुधवार दुई लाख ३९ हजार ६ सय ६१ जनाले र आज बिहीवार दुई लाख ८२ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

सबैलाई एकै पटक खोप लगाउँदा अन्याेल हुन सक्ने भएकाले अवस्थाअनुसार खोपलाई प्राथमिकीकरण गरिएको स्वास्थ्य तथा जनङ्सख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो । यस्तै ५७ जिल्लाका विद्यालयमा खोप अभियान सञ्चालन भइरहेको भए पनि कतिपय विद्यालय चिसोका कारण बन्द भएको र कतिपय ठाउँमा खोप अभियान नै सुरु नभएकाले पनि समस्या भएको उहाँको भनाइ छ । तर ‘सिरिन्जको अभाव’ नै भइसकेको अवस्था भने नभएको उहाँले बताउनुभयो ।

भोलि शुक्रवार पनि ५० लाख सिरिञ्ज भारतको कोलकत्ताबाट नेपाल आइपुग्ने उहाँले बताउनुभयो । खोप लगाउनेको सङ्ख्या बढाउनका लागि पालिका स्तरबाट नै बढी सक्रियता बढाउनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्रले बताउनुभयो ।

Facebook Comments Box

Related posts