Technology World अन्तर्राष्ट्रिय राजनीतिक समाचार 

अमेरिका, चीनसहित पाँच देशले भने– ‘परमाणु युद्ध कसैले जित्न सक्दैन’

अमेरिका, बेलायत, चीन, रुस र फ्रान्सले परमाणु हतियारको विस्तार र परमाणु युद्धको सम्भावना अन्त्य गर्नेबारेमा सहमति जनाएका छन् ।

सोमवार रुसको तर्फबाट जारी गरिएको पाँच देशको साझा विज्ञप्तिमा परमाणु हतियारको विस्तार र दुई परमाणु हतियार भएका देश युद्धको स्थितिबाट बच्नुपर्ने भनिएको बीबीसीले लेखेको छ ।

यी पाँच देश संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्य हुन् । परमाणु शक्तिबीच युद्धबाट बच्न र रणनीतिक जोखिम कम गर्न आफूहरूको प्राथमिक जिम्मेवारी भएको यी देशले मानेका छन् ।

साझा विज्ञप्तिमा भनिएको छ, ‘परमाणु युद्ध जित्न सकिँदैन र युद्ध गर्न नहुने हामी मान्छौँ । परमाणु हतियारको प्रयोगको परिणाम लामो समयसम्म रहन्छ, यसर्थ यसलाई आत्मरक्षाका लागि, तनाव कम गर्न र युद्ध रोक्ने उद्देश्यबाट प्रयोग गर्नुपर्ने हामी मान्छौँ ।’

समाचार एजेन्सी सिन्ह्वाका अनुसार, चीनका उप विदेश मन्त्री मा जाओक्सुले संयुक्त विज्ञप्तिले आपसी विश्वास बढाउन सहयोग गर्ने र समन्वय–सहयोगले ठूला शक्तिबीच प्रतिस्पर्धालाई परिवर्तन गर्न सकिने बताउनुभएको छ ।

चीनले परमाणु हतियारलाई लिएर ‘नो फर्स्ट युज’ अर्थात् (पहिले प्रयोग नगर्ने) नीति लिएको छ ।

फ्रान्सले पनि एक विज्ञप्ति निकालेर पाँच देशले परमाणु हतियार नियन्त्रण र निरस्त्रीकरणका लागि आफ्नो दृढ सङ्कल्पलाई दोहोर्याएको बताएको छ । यसका लागि द्विपक्षीय र बहुपक्षीय प्रयास चलिरहने फ्रान्सकाे भनाइ छ ।

Facebook Comments Box

Related posts