Technology अन्तर्राष्ट्रिय जीवन देश समाचार 

प्राधिकरणले किन्यो एकै पटक २० विद्युतीय गाडी तर चालकले मानेनन् चलाउन

नेपाल विद्युत प्राधिकरणले एकै पटक २० वटा विद्युतीय कार खरिद गरेको छ । इन्धनको मूल्य बढेपछि प्राधिकरणले विद्युतीय गाडी खरिद गरेको जनाएको छ । इन्धनको विकल्पमा विद्युत अनिवार्य बनेको छ । विद्युतीय सवारीमा तेलको सुविधा पनि नपाइने र मर्मत समभार शुल्क ज्यादै न्यून हुने भएकाले अतिरिक्त आम्दनी गुम्ने डरले चालकहरु त्यस्ता सवारी आफूले नचलाउने गरी व्यवस्था गरिदिन प्राधिकरणको उपल्लो तहका अधिकारीलाई आग्रह गरिरहेका छन् ।

डिजल र पेट्रोलको मूल्य अत्याधिक वृद्धि भएपछि भने केही सरकारी निकाय र निजी क्षेत्रले सवारी खरिद र प्रयोग बढाउँदै आएको पाइएको छ । वातावरणमैत्री सवारीलाई स्वदेशमै उत्पादन गर्दै विद्युतको खपत बढाउन प्रोत्साहन मिलेको प्राधिकरणले जनाएको छ । सरकारले विद्युतीय सवारीमा लाग्ने करमा सहुलियत दिएसँगै विद्युतीय सवारीको प्रयोग तथा आयात समेत बढ्न थालेको तथ्याङ्क छ । निजी क्षेत्रले मात्र नभएर सरकारी निकायहरूले समेत विद्युतीय सवारीको प्रयोग बढाउन थालेका छन् ।

इन्धन प्रयोगवापत् राज्यकोषको अरबाैं रकम समेत बच्ने भएको छ । भञ्सार विभागको तथ्याङ्कअनुसार नेपालमा हाल ४० हजार बढी विद्युतीय सवारीसाधन भित्रिएर सञ्चालनमा छन् । पाँच वर्ष यता मात्र विद्युतीय सवारी २७ हजार ५३४ वटा आयात भएका छन् । यसअघि सडक विभागले किनेको विद्युतीय सवारी चलाउन पनि चालकहरुले मानेका थिएनन् । अन्य केही मन्त्रालय र निकायले किनेका विद्युतीय सवारी पनि चालक र कर्मचारीले चढ्ने इच्छा नदेखाएपछि फाट्टफुट्ट अत्यावश्यक अवस्थामा मात्रै प्रयोगमा आउँछ ।

आफूले चलाउँदै आएका पेट्रोल गाडी काठमाडौंबाट हटाएर अन्य स्थानमा प्राधिकरणका वितरण केन्द्र र आयोजनाहरुका साइटमा पठाउन लागेपछि आफूलाई विद्युतीय सवारी चलाउन नपर्ने वातावरण बनाइदिन चालकहरुले प्राधिकरणका अधिकारीहरुलाई भेटिरहेका छन् । पेट्रोलियम गाडी मर्मतका लागि हुने खर्चमा प्राधिकरणका सामान्य सेवाका कर्मचारीहरुले सर्भिस सेन्टरबाट २५ प्रतिशतसम्म अतिरिक्त सेवा शुल्क जोडेर कमिसन लिने गरेको प्राधिकरणका एक अधिकारीको दाबी छ । त्यसको हिस्सा चालकहरुले समेत पाउने गरेका छन् । विद्युतीय सवारीमा यस्तो सर्भिसिङमा हुने खर्च लगभग ९० प्रतिशतले कम हुन्छ ।

Facebook Comments Box

Related posts