समाचार देश राजनीतिक समाज 

नयाँ पार्टी खाेल्ने कुरा ठूलो होइन, बास्ताेला र वलीजी आत्मालाेचना गरेर फर्किनुस् : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीबाट विद्रोह गरेर गएका नेता कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गर्नुभएको छ ।

आज शुक्रवार केन्द्रीय समितिको १३ औँ पूर्ण बैठकका निर्णयहरू सार्वजनिक गर्न काठमाण्डाैमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले पार्टीबाट विद्रोह गरी नयाँ पार्टी गठन गरेका पूर्वसचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीलाई पार्टीमा फर्किन आह्वान गर्नुभएको हो । गल्ती स्वीकार गरेर आत्मालोचना गरी पार्टीमा फर्किन उहाँले आग्रह गर्नुभयो ।

महासचिव विप्लवले भन्नुभयो, ‘बास्ताेला र वलीजी गल्ती स्वीकारेर पार्टीमा आउनुस् । बाहिर बबन्डर मच्चाउन छाेड्नुस् । उहाँहरूले चितवनबाट प्रतिवेदन निकाल्नुभएछ । के छ त्याे प्रतिवेदनमा ? एउटा केही पनि फरक छैन । समाजवादकाे लक्ष्य त हामीले महाधिवेशनबाट परित गरेरै आएका छौँ ।हामीले भन्दै आएकाे प्रगतिशील संयुक्त सरकार, जनमत सङ्ग्रह, वैज्ञानिक समाजवाद त हाे नि । नेपालमा त सय वटाभन्दा बढी पार्टी छन्, एउटा थप्ने कुरा ठूलो होइन । तर नेपाली जनतालाई नेतृत्व गर्ने, नेपालको क्रान्तिकारी आन्दोलनलाई गोलबन्द गरेर लिएर जाने कुरामा हामीले ध्यान दिनुपर्छ ।’

महासचिव विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताको कुरा गरिराख्ने भन्दै उहाँलाई पनि पुरानो ठाउँबाट फर्किन आग्रह गर्नुभयो । उहाँले माओवादी जनतालाई मलमल र भुमरीमा नफसाइ परिवर्तनतिर लैजाने गरी आएमा आफूहरू एकताका लागि तयार रहेको बताउनुभयो । उहाँले लहैलहैमा लागेर पार्टी छाडेका कार्यकर्तालाई पनि पार्टीमा फर्किन अपिल गर्नुभयो ।

नेपाल कम्युनिस्ट पार्टीले आउँदाे असोज १ गतेदेखि ८ गतेसम्म काठमाण्डाैमा नवौँ महाधिवेशन गर्ने भएको छ । महाधिवेशन अगाडि भदौ ५ गतेसम्म वडा र पालिका सम्मेलन तथा भदौ १५ गतेभित्र जिल्ला सम्मेलन सम्पन्न गरिने जनाइएको छ ।

Facebook Comments Box

Related posts