समाचार राजनीतिक 

देउवापछि प्रचण्डसँग राउतको भेटवार्ता, किन दौडधुपमा छन् सीके?

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेट भएको छ। बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेपछि राउतले प्रचण्डलाई पनि भेटेका हुन्।

प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा उनीहरूबीच एकआपसमा बधाइ आदनप्रदान भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। पहिलो पटक चुनाव लडेको जनमत पार्टीका अध्यक्षसमेत रहेका राउत सप्तरी-२ बाट लोकप्रिय मतसहित निर्वाचित भएका छन्। भेटमा समसामयिक राजनीतिक विषय र सत्ता सहकार्यबारे छलफल भएको थियो।

यसअघि देउवाले सरकारमा सहभागी हुन राउतलाई प्रस्ताव गरेका थिए। आफूहरू सरकारमा जान तयार भएपनि नागरिकता विधेयक, किसान आन्दोलनका १३ बुँदे माग र रोजगारी सिर्जनाका विषयमा आफूहरूको माग पूरा गर्नुपर्ने शर्त राउतले राखेका छन्।

राउत नेतृत्व जनमत पार्टीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलसमेत बन्ने देखिएकाले समानुपातिकबाट प्रतिनिधि सभामा ४ सिटसहित ५ जना संसद् प्रवेश गर्ने देखिन्छ। राष्ट्रिय दलको हैसियत पाउने भएपछि राउतले राजनीतिक भेटघाट बढाएका हुन्।

राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशमा समानुपातिकसमेत गरी १३ सिट जित्ने देखिएको छ। आफूहरूको पहिलो प्राथमिकता मधेश प्रदेशको नेतृत्व भएको जनमतका नेता बीपी साहले बताए। आवश्यक परेको खण्डमा संघीय सरकारमा सहभागी हुन सकिने तर मधेशको नेतृत्वमा जनमत पार्टीको दाबी रहेको उनको भनाइ छ।

बिहीबार देउवा र प्रचण्डसँग भेटवार्ता गरेका राउतले शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्ने योजना बनाएका छन्। यद्यपि समय भने निश्चित भइनसकेको बताइएको छ।

Facebook Comments Box

Related posts