समाचार राजनीतिक 

झाँक्रीले ओलीको प्रशंसा गरेपछि रिसाए माधव नेपाल, पाटि छोड्न निर्देशन

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना नेताको बदख्वाइँ गर्दै अरूको प्रशंसा गर्ने काम बन्द गर्न निर्देशन दिएका छन् ।

मंगलबार पोलिट्ब्यूरो बैठकमा उनले मिडिया र बैठकबाहिर नेताका विरुद्ध नबोल्न निर्देशन दिएका हुन् । “अनुशासन तोड्ने, आफ्नै स्वर ठूलो हुने ? बाहिर पार्टीको बदख्वाइँ गर्ने अनि हाम्रै स्वर ठूलो हुने ?,” नेपालले भने, “आफ्नो नेताको बदख्वाइँ गर्ने अरू नेताको प्रशंसा गर्ने र आफ्नै स्वर ठूलो हुने तरिका बन्द गरौँ ।”

उनले आफ्ना कुरा पार्टी बैठकमा राख्न पनि आग्रह गरे ।“जे जे लागेको छ कमिटीभित्र राखौँ । आफ्ना लागेका कुरा बाहिर प्रचारित गर्ने, मिडियामा गएर बोल्ने, यस्तो प्रक्रिया अपनाएर क्रान्तिकारी पार्टी बन्छ ?,” अध्यक्ष नेपालले प्रश्न गरे ।

बैठकमा व्यापक छलफल गर्ने, कमिटी प्रणालीको आधारमा अगाडि बढ्ने, नयाँ क्रान्तिकारी पार्टी बनाउन लागिएको उनको भनाइ छ ।

उनले सबै कुरा पार्टीमा छलफल गर्ने नेताहरूलाई निर्देशन दिएका छन् । पार्टी वरिष्ठ नेता मुकुन्द न्यौपाने र पार्टी सचिव रामकुमारी झाँक्रीले पार्टीविरुद्ध गतिविधि गरेको बैठकमा कुरा उठेपछि अध्यक्ष नेपालले यस्तो निर्देशन दिएका हुन् ।

उनीहरूमाथि एमाले र माओवादीको पैरवी गरेको र आफ्नै पार्टी अध्यक्षको बद्ख्वाइँ गरेको आरोप छ । झाँक्रीले हालै एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेर दिएको टिभी अन्तर्वार्ता दिएकी थिइन् । भने, मुकुन्दले सार्वजनिकरूपमै नेतृत्वविरुद्ध बोल्दै आइरहेका छन् ।

Facebook Comments Box

Related posts