समाचार देश 

नेपालमा हालसम्म १०४ वटा हवाई दुर्घटना, साढे ८ सयभन्दा बढीको मृत्यु

काठमाडौँ — नेपालको हवाई उड्ययन इतिहासमा आइतबार पोखराको दुर्घटनासहित हवाई दुर्घटनाको संख्या १०४ पुगेको छ । २०१२ वैशाखमा पहिलोपटक सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको थियो ।

नेपाल नागरिक उड्ययन प्राधिकरणको ‘एभीएसन सेफ्टी रिपोर्ट’ अनुसार व्यवसायिक आन्तरिक उडानतर्फ पोखरामा आइतबार भएको यो ५० औं दुर्घटना हो । त्यस्तै नेपालमा हालसम्म एक इन्जिनयुक्त आठ वटा दुर्घटना भएका छन् भने हेलिकप्टरतर्फ ३६ र विदेशी १० वटा वायुसेवासमेत गरी नेपालमा हालसम्म १ सय ४ वटा दुर्घटना भइसकेका छन् ।

यी दुर्घटनामा अहिलेसम्म साढे ८ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । आइतबारको पोखारा दुर्घटनाबाहेक हालसम्म यी हवाई दुर्घटनामा ८ सय ४९ को मृत्यु भइसकेको छ । जसमा आन्तरिकतर्फ ३ सय ६४, सिंगल इन्जिन भएका विमान दुर्घटनामा २५, हेलिकप्टरतर्फ ८५ र विदेशी वायुसेवातर्फ ३ सय ७५ गरी गरी जम्मा ८ सय ४९ को मृत्यु भइसकेको छ ।

आइतबार पोखराका लागि चार चालक दल र ६८ जना यात्रु बोकेर काठमाडौंबाट उडेको यति एयरको एटीआर विमान घटना यति समूहको २४ वर्षयता भएको १४ औं हवाई दुर्घटना हो ।

किन भइरहन्छ नेपालमा हवाई दुर्घटना ?
यसअघि गत जेठमा जोमसोमका लागि १९ जना यात्रु बोकेर पोखराबाट उडेको तारा एयरको ट्विनअटर विमान दुर्घटनाग्रस्त भएको थियो । सुगम उडानमा यतिको नाममा ५ वटा एटीआर विमान भएको यो कम्पनीसँग अब ४ वटा एटीआर बाँकी छन् ।

Facebook Comments Box

Related posts