समाचार राजनीतिक 

एमाले र माओबादीको समर्थनमा माधव नेपाल राष्ट्रपति बन्दै, यस्तो छ दलहरुको भित्रभित्रैको तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वसहमतिबाट पछि हट्दै राष्ट्रपतिमा एमालेलाई समर्थन नगर्ने लभगभ निश्चित भएसँगै एमाले वैकल्पिक तयारीमा जुटेको छ । राष्ट्रपतिको चुनावकाे बहानामा गठवन्धन भत्काउने र अस्थिरता पैदा गर्ने गरी बाह्य चलखेल बढेपछि त्यसलाई असफल पार्न विभिन्न विकल्पमा छलफल भइरहेको छ ।

पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नयाँ सरकार गठनलाई लिएर विभिन्न सहमति भएका थिए । त्यसमध्येको एउटा सहमति एमालेले राष्ट्रपति पाउने भन्ने थियो । तर, कांग्रेसले प्रचण्ड सरकारलाई विश्वासको मत हालेसँगै राजनीतिको कोर्स फेरिएको छ । प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने वचन दिइसकेका छन् ।

यस्तै यता राष्ट्रपति पद हात पार्न दलहरुबीच दाउपेच चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा पुगेर बाह्रबुँदे समझदारी गर्ने दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन्।

‘बाह्रबुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन शक्ति एक ठाउँमा थियौँ, फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ। राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो,’ ८ फागुनमा पोखरामा पार्टीको कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले भने, ‘राष्ट्रिय सहमतिका लागि विभिन्न विकल्प छन्, ठूला पार्टी एक ठाउँ उभिन नसक्ने अवस्था छैन।’

प्रचण्डले यसो भनेर राष्ट्रपतिमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम अघि सार्न खोजेको कतिपयले अड्कल गरेका छन्। माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन एमालेका तत्कालीन महासचिव नेपालले महत्वपूर्ण भूमिका खेलेका थिए। उनले भारतमै पुगेर माओवादी नेताहरु प्रचण्ड, बाबुराम भट्टराईसँग भेट गरेका थिए। त्यही जगमा १२ बुँदे समझदारी मार्फत् जनआन्दोलन हुँदै नेपालमा गणतन्त्र स्थापना भएको हो।

सरकारलाई दिएको समर्थन फिर्ता लिन एमालेलाई सजिलो छैन । त्यो अवस्थामा उ पाँच वर्षका लागि खाली हात हुनेछ । केवल सभामुखमा चित्त बुझाउनुपर्छ । त्योभन्दा राष्ट्रपति माया मारेर भए पनि गठबन्धनलाई निरन्तरता दिने विकल्पको खोजी भएको हो ।

विभिन्न विकल्पमध्ये नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्तावित गर्ने पनि रहेको पार्टीका एक पदाधिकारीले बताए । चुनावअघिसम्म निकै तिक्ततापुर्ण सम्वन्ध रहेका एमाले अध्यक्ष ओली र समाजवादी अध्यक्ष नेपालबीच पछिल्लो समय सम्वन्धमा सुधार आउन थालेको स्रोतको भनाइ छ । दुई नेताबीच दुई दिनअघि गोप्य भेटसमेत भएको थियो । महाराजगञ्जको एउटा घरमा उनीहरुबीच राष्ट्रपति चुनावकै सन्दर्भमा भेटवार्ता भएको पार्टी स्रोतले बतायो । उक्त भेटमा ओलीले नेपाललाई राष्ट्रपति अफर गरे/नगरेको बारे स्रोतले बताउन चाहेन ।

एमाले अध्यक्ष ओलीले राष्ट्रपति बनाउन प्रस्ताव गरे नेपाल तयार रहेको उनीनिकट एकीकृत समाजवादीका नेताहरू बताउँछन्। तर, त्यसमा राष्ट्रिय सहमति हुनुपर्ने उनीहरूको भनाइ छ।

‘माधव कमरेडलाई राष्ट्रपतिमा प्रस्ताव गरे उहाँ तयार हुनुहुन्छ,’ एकीकृत समाजवादीको पदाधिकारी समेत रहेका ती नेताले भने, ‘त्यसमा एमाले र माओवादी प्रस्तावक र कांग्रेस समर्थक बन्नुपर्छ।’

‘राष्ट्रिय सहमति जुटाउनेगरी तीनै दलको साझा उम्मेदवार हुने भए मात्र उहाँ अघि बढ्नुहुन्छ, नत्र राजनीतिलाई दाउमा राख्ने कुरा हुँदैन,’ उनले थपे, ‘उहाँजस्तो व्यक्तिलाई राष्ट्रपति मान्न कांग्रेस तयार नभए ‘डिजास्टर’ हुन्छ। विगतमा पनि ठूलो जोखिम मोलेर माधव नेपालले संकटको समाधान दिनुभएको हो।’

तर, उनले एमाले र कांग्रेस दुवै एकै ठाउँमा उभिने सम्भावना कम रहेको बताए।

Facebook Comments Box

Related posts