जीवन Blog 

दिल निशानी मगरले स्विट्जरल्यान्डमा भूपू मायालुलाई भेट्दा…

पोखरामा भैँसी पनि अंग्रेजी बोल्दो रहेछ भन्दै भरिया काम गरेर गाउँ फर्किएका ठूलेकाजीले ‘खैरेखैरेनीले मान्छेकै अगाडि चुम्मा खाने रहेछन्, तँ मुलाचाहिँ गाउँमा भैँसीको गोठालो लागेर बस्’ भनेका थिए । हाम्रो गोठमा डल्ली नामको भैँसी थियो। त्यही भैँसीको मायाले गर्दा मैले गाउँ छाड्न सकेको थिइनँ । उक्त भैँसी म जुन पाखोमा गएर बस्यो त्यहीँ आएर बस्थ्यो। त्यतिबेला आफूसँगै पढ्ने एक युवतीसँग स्कूलमा भन्दा धेरै भेट जंगलमा हुन्थ्यो। उनको घरमा पनि रुपालु नाम गरेको एउटा भैँसी थियो। समग्रमा हामी विद्यार्थी कम र गोठाला धेरै थियौं। कुनै दिन उनी गोठालो आइनन् भने मलाई निकै खल्लो लाग्थ्यो ।

‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटैमा…’ भन्ने नारायण गोपालको गीत एकपटक उनकै नाममा फर्माइस गर्दा सात गाउँ नै हल्लिएको थियो। फलनाको नाम त रेडियोमा आएको छ रे भनेर वर्षदिनसम्म चर्चा चलेको थियो।हाम्रो गाउँमा गुराँस फुल्ने पहाडका टाकुराहरू धरै नै छन्। पहाडको मुनि सानो र सुन्दर छ हाम्रो गाउँ। त्यही गाउँको वारिपारि गर्ने दोबाटाहरूमा मलाई देख्दा उनको खुट्टा धेरैपटक अल्झिएको थियो। त्यतिखेर गाउँमा जिन्स पाइन्टको चलन भर्खरै आएको थियो। जिन्स पाइन्ट लगाउँदा उनी रेखा थापाजस्ती देखिन्थिन्। उनको कपालको दुईचुल्ठीको रातो रिबन मलाई रातो गुराँसको थुँगाजस्तै लाग्थ्यो।

समयक्रमसँग डल्ली र रुपालु भैँसीहरू यस पृथ्वीमा रहेनन्। भैँसीहरूसँग हाम्रो बिछोड भएका वर्षहरू दुवै हातका औंलाहरूले गनेर भ्याउन पनि सक्दैनन्। ‘गोठाला जाँदा लाएको माया कता जाँदा छुटेछ…’ भनेजस्तै भयो। केही वर्ष अगाडि केही मिल्ने साथीहरूले जलजला पहाडमा गुराँस हेर्न जाने भनी योजना बनाएका थिए। तर मलाई गुराँसको फूल देख्दा उनकै रातो रिबनको याद आउँछ भनेर जलजला जाने नामावलीबाट अन्तिम समयमा आफ्नो नाम हटाएको थिएँ। गुराँस फुल्ने याममा म आफ्नो गाउँ नगएको समेत धेरै वर्ष भयो। हाम्रो माया साँच्चै अजम्बरी थियो।

खै किन हो, ती दिनहरूमा उनलाई भोक लाग्दा मलाई पनि भोक लाग्थ्यो। पेट फरक-फरक थियो तर भोक एउटै । काँचो रारा चाउचाउमा सुप हालेर एउटा पोकामा दुईवटा हात हालेर खान्थ्यौं। उनलाई पिरो हुँदा मेरो हातमा जादुगरको जस्तो पानीको बोत्तल आइपुग्थ्यो। उनलाई पिसाब लाग्दा मलाई पनि लाग्थ्यो । त्यतिखेर टोनी नामको मुखमा लगाउने क्रिम निकै चलेको थियो। फेयर एन्ड लभ्लीभन्दा पहिले टोनी क्रिम गाउँमा पुगेको हो। मैले टोनी क्रिम किनेर उनलाई जन्मदिनमा उपहार दिएको थिएँ। एकपटक भने हिल चप्पल दिएको थिएँ। त्यो चप्पल लगाउन नजानेर बांगो-बांगो हिँडेको एउटा मान्छेको झ-झल्को अझै पनि आइरहन्छ।

जब अप्रिल ४ तारिख आउँछ उनको जन्मदिनमा मलाई त्यही टोनी क्रिमको याद आउने गर्छ। आज उनको जन्मदिन हो । एकाबिहानै गुगलमा सर्च गरेर टोनी क्रिमको फोटो हेरें । बाध्यता वा परिस्थितिले धेरै यादहरू बिर्सिनुपरेको छ। तर उनको जन्मदिन कहिल्यै बिर्सिन सकेको छैन। शायद यो जुनीमा बाँचुञ्जेल सक्दिनँ होला पनि। जन्म दिनहरूको आघातले एकपटक अति भएर घरमा भएको भित्तेपात्रो नै च्यातेर फालिदिएको थिएँ र आमाको कुटाइ खाएको थिएँ। धेरै वर्षसम्म मलाई साल, गते तिथिमिति केही थाहा भएन। वास्ता पनि गरिनँ। यतिसम्म कि समय बताउने हातको सिकोफाइभ घडी पनि ढुंगाले हानेर फोडिदिएको थिए, किनकी मलाई लाग्थ्यो मेरा लागि समय निकै गलत चलिरहेको छ ।

उनलाई गणितको हिसाब खासै आउँदैन थियो। एकदिन उनलाई हिसाब नजानेको आरोपमा गणित बिषय पढाउने मास्टरले गालामा सारै पिटेका थिए । तर त्यो पिटाइले मलाई दुखेको थियो। मेरी मायालुलाई कुट्ने त्यो गतिछाडा मास्टरको प्रतिवाद गर्न एकदिन मैले स्कूलको चक चोरें र त्यो मास्टर हिँड्ने बाटोमा रहेका प्रायजसो ढुंगामा ‘…. मास्टर मुर्दावाद, फलानो मास्टर यो गाउँ छोड्’ भनेर नारा लेखें । एकजना बज्यैको घरमा रौं सकिएर छाला मात्रै रहेको भैँसी थियो। त्यो भैँसी पनि त्यही मास्टर हिँड्ने बाटोमा घाम तापिरहेको हुन्थ्यो। मैले त्यो भैँसीको छालामा पनि ‘फलानो मास्टर मुर्दावाद’ भनेर लेखिदिएँ ।

शरीरमा नारा बोकेको त्यो अभागी भैँसीले एक फन्को गाउँ परिक्रमा गरिसक्दा मेरो हविगत लगभग चार्ल्स सोभराजको जस्तो भैसकेको थियो। एक प्रकारको ‘मस्ट वान्टेडमा’ थिएँ म । ती बज्यै वडाध्यक्षको आँगनमा गएर मलाई ‘थुइक्क, मर्न नसकेको असत्ति’ भनेर सरापेकी थिइन् । केहीसमय गाउँमै भूमिगत भएँ। अन्तत: जब स्याल जस्तै बनेर स्कूलको मैदानमा छिरें, तब हरियो बाँसको भाटाले मेरो शरीरका प्राय सबै भागमा प्रहार भयो। अपरिपक्क विद्यार्थीमाथि एउटा मास्टर यति धेरै निर्दयी भएको मैले अहिलेसम्म देखेको छैन। घुँडामा अहिले पनि दाग छ, जहाँबाट धेरै रगत बगेको थियो ।

सबैका अगाडि स्कूलको मैदानमा मैले कुटाइ खाएको त्यो दिन उनी धेरै रोएकी थिइन् । मलाई कुट्दा अरू मास्टरहरू रमिता हेरेर बसेका थिए। शायद उनीहरूको डिग्री यस्तै मौनतामा रमाउने भन्ने विषयमा थियो वा तिनीहरू सबै आर्मीको जर्नेलको तालिम सकेर भर्खरै आएका थिए । मैले कुटाइ खाएको देखेर रुँदा उनको ड्रेस निलो शर्टका बाहुलाहरू सबै भिजेका थिए। आँखाका नानीहरू रातो भएका थिए । नाक पनि रातो भएको थियो। शिर झुकेको थियो। उनले चित्त दुखाएर रोएको देखेपछि म पनि रुन पुगेछु।

त्यही कुटाइ खाएको दिन मैले उनको कापी झिकेर मेरो झोलामा हालेको थिएँ र एउटा कविता लेखेर भोलिपल्ट उनलाई दिएको थिएँ। त्यो रात उनको कापीलाई मैले सिरानीमुनि राखेर सुतेको थिएँ। यस्तो लाग्थ्यो उनको काखमा निदाइरहेको छु। अरू कुरा त छाडौं उनको कपीसँग पनि मेरो प्रेम थियो। मास्टरको निर्घात कुटाइ खाएको रात कुहिनो दुखेर हातले कलम समाउनै मिलेको थिएन। तर उनको कापीको स्पर्शले मलाई बलियो ऊर्जा प्रदान गरिरहेको थियो।

सम्भवत: त्यो कविता नै मेरो जीवनको पहिलो साहित्य हुनुपर्छ ।

रातभरी चोटहरू दुखेको छ,
खै किन हो निद्रा परेको छैन ।
जतिसुकै बाधा अवरोध आऊन् मायामा,
यति कुरा बुझ्नु, हिम्मत हारेको छैन ।

साँच्चै मायाले रोएकी हौ कि,
अपमानको पीडाले विचलित भएकी हौ ?
रुदैँरुदैँ सरासर घर गएकी हौ कि,
तिम्रो साथी पारुको घर पसेकी हौ ?

पारु उनको सबैभन्दा नजिकको मिल्ने साथी थिइन्। ‘तिमीलाई त मेरो साथीले कर्के आँखाले पनि हेर्दिनन्, किन पागलपन देखाएको’ भनेर मलाई हतोत्साहित पार्ने गर्थिन् । संसारमा प्रेम जोडीहरूको विच्छेद यदि कसैका कारण हुन्छ भने सबैभन्दा धेरै आफ्नै साथीभाइहरूबाट हुन्छ । त्यतिखेर मैले चुरोट तान्छ भनेर पारुले गाउँभरी जुठो हल्ला चलाइदिएकी थिइन्। शरीरको दुखाइको मतलबै थिएन, मलाई केबल कविताको प्रतिउत्तरको छटपटी भइरहेको थियो। शुक्रवारको दिन एउटा कागजको टुक्रामा केही लेखेर मलाई दिएकी थिइन्।

मेरो मुटु टुक्राटुक्रा भयो तिमीलाई कुटेको देखेर ।
मायाले नै रोएकी हुँ बेबी कसरी बसुँ नि म सहेर ?
नसोध कति माया गर्छु तिमीलाई भनेर,
बस्दैछु त्यो खुसीको दिनको प्रतीक्षामा औला भाँची गनेर ।

केही दिनपछि गाउँमा मैले कुखुरा चोरेर खाएको भन्ने हल्ला फैलियो । सुकेको खरमा आगो सल्किए झैं तुरुन्तै सर्वत्र फैलियो । गाउँमा एकजना दमिनी भाउजू सुत्केरी भएकी थिइन् । उनको आर्थिक अवस्था साह्रै नै कमजोर थियो। सिन्कीको झोल खाएर स्तन रसाउने कुरै थिएन। दूध नपुगेर नानी रोइरहेको बाटोमा नै सुनिन्थ्यो। मैले कसैलाई नसोधी गाउँकै एक जनाको कुखुरा उठाएर त्यही दिमिनी भाउजूलाई दिएको थिएँ। काटिदिएको पनि मैलै नै थिएँ, किनकी त्यतिबेला कुखुरा किन्ने ५ सय रुपैयाँ साथमा थिएन ।

अनि फेरि तिनै मास्टरले कक्षामा मेरो हुर्मत काडे। उनको साथी पारु चर्को स्वरमा अर्को कक्षामा सुनिने गरी हाँसिन्। त्यति नमीठो हाँसो त्यसउप्रान्त मैले कतै सुनेको छैन र सुन्न पनि नपरोस्। त्यो दिन पनि उनी पहिलेजस्तै धेरै रोएकी थिइन्, रुँदारुँदा । चिसोले फुटेको गाला आँसुले भिजाएकी थिइन्। त्यसरी किन रोएको भनेर फेरि अर्को कविता लेख्न नपाउँदै अचानक उनी परिवारसहित गाउँ छाडेर काठमाडौं हिँडेको खबर सुन्नु पर्‍यो । मलाई काठमाडौं कहाँ हो केही थाहा थिएन। त्यसपछिका दिनहरू मैले किताबको नक्सामा काठमाडौं हेरेर बिताएँ। यस्तो लाग्थ्यो काठमाडौंको नक्साभित्र उनकै मुहार कोरिएको छ।

उनी काठमाडौं गएको करीब ६ महिनापछि फेरि गाउँमा हल्लाखल्ला नै मच्चिने गरी मेरो नाममा एउटा चिट्ठी आयो। चिट्ठीमा लेखिएको थियो, ‘प्यारो मान्छे, खै कसरी के-के भयो म काठमाडौं आएको छु। तर मेरो मन तिमीतिर नै छ। यो काठमाडौंमा टोनी क्रिम किनेर दिने मान्छे केही भएन। ब्युटीपार्लरको क्रिमले म राम्री हुन सकिनँ। भन न म के गरुँ? यदि मेरो माया लाग्छ भने छिट्टै काठमाडौ आऊ । म बस्ने घर तिम्रो काकाले देखेको छ।’

गाउँमा सबैथोक थियो, तर मेरा लागि भने सबैथोक हराएजस्तो । गाउँ सुनसान बन्दै गयो। ४ घण्टा बिताउन पनि ४ वर्षजस्तो लाग्न थाल्यो। रेडियो नेपालमा मानिस हराएको सूचना आउँथ्यो। गहुँगोरी अन्दाजी २२ वर्षकी हराएको भन्थ्यो। वश, मेरो मनमा पनि यही एउटा मानिस हराएको सूचनाबाहेक कुनै चिज जीवित थिएनन्। यसरी मानिस हराएको सूचना मेरो मनबाट कहिल्यै हराएको थिएन। वर्षौंवर्षदेखि मनको राज्यमा प्रसारण भैरहेको थियो । फरक यति थियो प्रस्तोता पनि मैँ थिएँ र स्रोता पनि म मात्र ।

***

डिसेम्बरमा स्विट्जरल्यान्डको जेनेभादेखि जुरिचसम्म म रेलको यात्रमा थिएँ। मेरो सिटको अगाडि एकजना खैरेनी बसेकी थिइन्। ठूले मगरले भनेको जस्तो मान्छेको अगाडि किस खाने मनुष्यहरू यिनै त होलान् भनेर म खिस्स हाँसें । नेदरल्यान्ड आमस्टर्डमको यौन बजारबारे मेरो लेख पढेपछि हाल जापानमा रहेका मेरा काकाले विनम्रतापूर्वक सोधेका थिए- ‘खास कस्तो हुने रहेछ नढाँटी भन त।’ ‘ठ्याक्कै तपाईंले देखाएको … फिल्म जस्तो’ मैले हाँस्दै जवाफ दिएको थिएँ। मलाई सबैभन्दा पहिला त्यस्तो फिल्म देखाउने तिनै काका थिए। त्यो बेला उनले भारतको दिल्लीमा भाँडा मस्काउने काम गर्थे र बिदामा घरमा आउने बेलामा त्यस्ता सिडी र रंगिन टीभी ल्याएका थिए । ती फिल्मका दिवाना थिए काका । पछि त्यो सिडी आन्टीले घनले हानेर फुटालेर फालिदिइन् भन्ने सुनेको थिएँ।

आजभोलि पनि काकाले बेलाबेलामा फोन गरेर आफ्नो अनुभव सुनाइरहनु हुन्छ। सिधा भाषामा भन्नुपर्दा उहाँ महिलाप्रति एकदमै क्रेजी हुनुहुन्छ। त्यो दिन पनि केही कुरा भन्नु छ भनेर उहाँले फोन गर्नुभयो। मलाई वाक्कदिक्कै लागिसकेको थियो । तर निकै आश्चर्यमा परेजस्तै गरेर काकाले भन्नुभयो, ‘अनि सुन त, त्यो पनि स्विट्जरल्यान्डमा मै छ नि !’मैले हतारमा सोधें, ‘ को त्यो ? ‘त्यो के, ‘नि..रु…’ हावा कुरा नगर्नुस् भन्दै म झर्किएँ। काकाले जवर्जस्ती ढंगले सोध्नुभयो, ‘ तँ अहिले बसेको लोकेसन छिटो दे केटा, तँलाई भेट्न हतारिएको छ, भर्खरै आइहाल्छ रे !’

काकाको कुरा सुन्दा मलाई मरेको मान्छे चिताबाट फेरि उठेर घर आएजस्तो लाग्यो । मैले जुरिच मेट्रो स्टेसनको लोकेसन दिएँ र मोबाइल नम्बर पनि दिएँ । आफूसँग रातो सुटकेस भएको जानकारी गराएँ। यस्तै २० मिनेटको प्रतीक्षापछि एकजना गहुँगोरो फुच्चे बाबु मेरो सुटकेस तान्न आइपुग्यो। बाबुले भन्यो, ‘मामा कम हियर, मम इज वेटिङ टू यू ।’ विदेशमा बस्ने बच्चाहरूसँग धेरै अंग्रेजी छाँट्नुहुँदैन भन्ने कुरा मलाई थाहा थियो, त्यसैले ओकेओके भन्दै उसैको पछाडि लुरुलुरु लागें । शायद मामा भन्न उनैले सिकाएको हुनुपर्छ भन्ने लाग्यो। ४ वर्षअगाडि पोखरा विमानस्थलमा पनि मलाई एकजना नानीले अचानक ‘मामा नमस्कार’ भनेकी थिइन्।

केही मिटर हिँडेपछि नजिकै कफी शपमा कालो चस्मा लगाएर, मुसुमुसु मुस्कुराउँदै उनी बसिरेहेकी थिइन् । पारिलो घाम उनकै आँखामा परेको थियो। गुराँसका थुँगाहरू जस्तै देखिने देश अनुसारको भेष गरेर पो हो कि कपालको त्यो गुराँसको थुँगा जस्तै फुर्के रिबन भने कतै हराएको थियो । मैले त आत्तिएर हो कि हतारिएर हो अचानक ‘मेडम नमस्कार’ भन्न पो पुगेछु।त्यसपछि म केही बोलिनँ। कोमामा रहेको बिरामी भर्खरै जागेर आईसीयूबाट आफ्ना आफन्तहरूलाई हेरे जसरी मैले केबल हेरिरहें।

‘के छ हिरो …, मलाई चिन्यौ ?”चिनेचिने जस्तो लाग्यो । देखेदेखेजस्तो लाग्यो । दुईटा फूल देउरालीमा सँगै राखेजस्तो लाग्यो…। तिमीले मलाई गाउँमै छाडेर आयौ त के गर्ने ? थाहा छ, त्यतिखेर आकाशमा जहाज उडेको देख्दा पनि मलाई तिमी फर्किएर आयौ कि जस्तो लाग्थ्यो,’ मैले भनें। मेरो कुरा नसुनेको जस्तो गरेर उनले टेबलभरी खाना मगाइन्। त्यति मीठो खाना मेलै जीवनमा कहिल्यै खाएको थिइनँ । त्यसपछि उनले भनिन्- ‘नरिसाऊ न दिल पुरानो कुरामा । भन, तिमीलाई के मन पर्छ ? के खाने ?’ ‘रारा चाउचाउ छैन, मलाई त काच्चै रारा चाउचाउको प्याकेटमा सुप हालेर खान मन लागेको छ,’ मैले भनें।

त्यसपछि उनी अचानक रोइन् । ‘मलाई यहाँ यही रोएको देखाउन बोलाएको ?’ म रिसाएँ। ‘केही खाएर जाऊँ न । मलाई पनि घर जानुपर्छ, उहाँ पर्खेर बस्नुभएको छ । ढिला हुन्छ, छिटो खाऊ न।’ उनले आँसु पुछ्दै भनिन्। मैले अलिअलि जुठो हालें। चम्चा चलाउन नजानेर धेरै खान भने चाहिनँ। उनले सोधिन्, ‘यहाँको के राम्रो लाग्यो? ‘ ‘मैले त सोचेको थिएँ, संसारमा सबैभन्दा सुन्दर स्विट्जरल्यान्ड छ होला भनेर, तर त्यो मेरो सोच गलत रहेछ। मलाई त सबैभन्दा राम्रो तिमी नै लाग्यो । मेरो मायाको कसम, पशुपतिनाथकै कसम’ मैलै भनें ।

‘बाफ रे, कसम त कति खाएको हो ? तिमीलाई थाहा छ कि छैन मायाले संसार थान्दैन भनेर ?’ उनले प्रश्न गरिन्। ‘मलाई त केही पनि थाहा छैन हौ, यस्तो कुरा त त्यही तक्मे बुढा विल्सनविक्रम राईलाई थाहा होला यार,’ मैले भनें। उनी आँसुले बगाएको गाजलको किनारा मिलाउँदै खिस्स हाँसिन्। ‘पैसा छ कि छैन? आजभोलि त खुब हिरो भएको छौ पैसा जति नि होला नि के कमी ।’ एमके लेखिएको ब्यागबाट एक हजार युरो निकाल्दै मेरो खल्तीमा हाल्ने प्रयास गर्दै भनिन्- ‘यी लौ, तिम्रो त्यो कविताको पैसा।’

घुम्दा फिर्दा आफूलाई पैसाको अभाव थियो। ओके छ त भनेर त्यो पैसा सहजै स्वीकार गरेर भनें- ‘अझै एक हजार युरो थपिदेऊ न भूपू माया, तिम्रो के नै जान्छ र?’ उनी खित्का छाडेर हाँसिन्, र दौडिएर एटीएम बुथतिर गइन्। उनले फेरि एक हजार युरो मेरो हातमा थमाइदिइन् र मायालु स्वरमा भनिन्- ‘गाडीसम्म छोड्न आऊ न, त्यहाँ परसम्म प्लिज…।’ ‘गाडीसम्मको के कुरा, घरसम्मै छोड्न जान मिल्दैन ? दुईचार दिन भाँडा माझिदिन्छु, कोठा सफा गरिदिन्छु नि !’ मैले प्रस्ताव राखें ।

खिस्स हाँस्दै उनले भनिन्- ‘अबुई मिल्दैन नि त्यो त…, कति बाठो मान्छे हो ।’ हामी बसेको त्यो कफी शप नेपालीकै रहेछ, भोजपुरका एकजना लिम्बू दाइको। सुटकेश त्यही लिम्बु दाइकोमा राखेर निस्किएँ। उनले पार्क गरी राखेको गाडी नजिक पुगेपछि उनले पुर्लुक्क मलाई हेरिन्। हातमा टिस्यु पेपर समाइरहेकी थिइन्। आँखाको किनारमा फेरि आँसु टिल्पिलाइरहेको थियो। नाता प्रमाणित नै बोकेजस्तो गरी अचानक मेरो सुटकेस तान्न आइपुगेका भाञ्जाबाबुलाई एकचोटि अँगालोमा उचालेँ। गालामा पप्पी गरें। उनले पनि पप्पी ब्याक गरे ।

त्यो बिदाइको क्षण निकै नमिठो लाग्यो । मैले गाडीको शिशाबाट उनलाई अन्तिम पटक हेरें। हात हल्लाउन खोजें। उनी कुनै हिन्दी सिरियलको दु:खी बुहारीजस्तो मुख बिगारेर रोइरहेकी थिइन्। साँझपख रातो लाइट झिपझिप बाल्दै उनको गाडी हाइवेतिर निस्कियो। अब उनी फेरि फर्केर आउने कुनै आशा थिएन। म भने आफ्नो सुटकेस लिन फेरि लिम्बू दाइको कफी शपतिर फर्किएँ। कफी शपमा भीषण मुरारुङको आवाजमा रहेको नेपाली गीत बजिरहेको थियो।

‘चरी बासैमा, जिन्दगी बित्ने भो लैलै आशैआशैमा ।
खुर्सानी डल्ले, मै जस्तो दु:खीलाई लैलै पत्याउँछ कल्ले ?’

अस्ति साँझ फेसबूक हेरिरहेको थिएँ। उनको फ्रेन्ड रिक्वेस्ट आएको रहेछ। एसेप्ट पनि गरिसकें। अब के होला त ? – यो आफ्नो कहानी दिल निशानी मगरले लोकन्तरमा लेख्नु भएको छ।

Facebook Comments Box

Related posts