भिडियो समाचार 

यसरी खन्छ टनेल बोरिङ मेसिनले सुरुङ – भिडियोसहित हेर्नुस्

काठमाडौँ — टीबीएम (टनेल बोरिङ मेसिन)ले सुरुङ कसरी खन्छ भन्ने धेरैलाई जिज्ञासा हुन सक्छ । सुनकोसी मरिण डाइभर्सनको सुरुङ यतिखेर टीबीएमबाट खन्ने काम भइरहेको छ । दुई सय ३० मिटर लामो टीबीएमले सुरुङ कसरी खन्छ ? सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देशक मित्र बरालको भनाइमा यो अटोमटिक टनेल बोरिङ मेसिन हो ।

भेरी– बबई डाइभर्सनपछि दोस्रो पटक यस आयोजनामा यो प्रयोग भएको छ । यो मेसिनको सबै ‘सेगमेन्ट’ अटोमेटिक सिस्टममा छ । पाँच दशमलव पाँच मिटर ‘डाय’ रहेको यो मेसिनबाट ६ वटा सेगमेन्टमा काम गरिन्छ ।

सबैभन्दा अगाडिको ‘कटरहेड’ले भिरभित्र कटिङ गर्दै जान्छ । मेसिनले कटिङलाई स्वचालित रुपमा गोलाकार गर्दै जान्छ । कटिङ गरेर आएको ढुंगामाटोलाई ट्रली सिस्टमबाट माथि ल्याएर ‘रेलवे’ तरिकाबाट जम्मा गर्छ र त्यसलाई क्रमिक रुपमा बाहिर फाल्दै जान्छ ।

निर्देशक बराल भन्छन्, ‘अन्तर्राष्ट्रिय अनुभव र भेरी बबईको कुरा गर्ने हो भने २० मिटरदेखि ६० मिटरसम्म प्रतिदिन सुरुङ खनिने छ । यो सबै भौगर्भिक अवस्थामा भर पर्छ । यो आयोजनामा हामीले प्रतिमहिना कम्तीमा पाँचसय मिटर सुरुङ खन्ने लक्ष्य लिएका छौं ।

भौगोलिक वातावरणले साथ दिएमा पाँच सयदेखि सात सय मिटरसम्म हुन सक्छ ।’ निर्देशक बरालका अनुसार टीबीएमले आठ/आठ घण्टाका दरले तीन सिफ्टमा गरी दिनको चौबीसै घण्टा सुरुङ खन्ने छ । चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिजले १३ दशमलव ३ किलोमिटर सुरुङ २२ महिनामा खनेर सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

Facebook Comments Box

Related posts