भिडियो समाचार 

पहिले मोजमस्ती अहिले सास्ती मेरो गितको के दोस: कमला घिमिरे

काठमाडौ। कलिलै उमेरमा लोकदोहोरीमा जमेकी बाल कलाकार हुन् कमला घिमिरे। ७ वर्षकै उमेरदेखि लोकदोहोरीका हस्तिहरूसँग टक्कर गरेर नाम कमाइन् उनले। यिनै बाल प्रतिभाको एउटा लाइभ दोहोरी अहिले चर्चा र विवादमा छ।

कमलाले केही दिनअघि गायक सुमन परियारसँग लाइभ दोहोरी गाएकी थिइन्, जसको विषयवस्तु विवादास्पद थियो। पछिल्लो समयका दुई ठूला स्क्यान्डलहरुलाई मसला बनाएर दुई कलाकारले दोहोरी गाएका थिए।

छहारी युट्युब च्यानलले चार दिनअघि युट्युबमा अपलोड गरेको यो भिडियोका केही टुक्का अहिले टिकटकमा भाइरल छन् । उमेरले भर्खर टिनएजमा प्रवेश गरेकी कमलासँग सुमनले वयस्क भावमा यो दोहोरी गाएका छन्।

यो दोहोरीमा कसलाई निशाना बनाइएको हो भन्ने बुझ्न कठिन छैन। खासगरी १० लाख वाला टुक्काले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । धेरैले वास्तविकता ओकलेको भन्दै कमलाको प्रशंसा गरेका छन्। तर, आलोचनाका स्वरहरू पनि सुनिन थालेका छन्।

हालैको प्रतिनिधिसभा चुनावमा नेकपा एकीकृत समाजवादीबाट समानुपातिक उम्मेदवार रहेकी कलाकार जमुना सुमनले फेसबुकमा कमलाको आलोचना गरेकी छन्। उनको स्टाटस छ, ‘कमला बैनी कति छिटो ठूली भइन्। आज लाइभ दोहोरी सुनेको लाज पो लाग्यो।’

लोक कलाकार नकुल ढकाल नवीनले लेखेका छन्, ‘प्रिय बहिनी कमला तिमीलाई समीक्षाले बोकेको पीडा बोक्न नपरोस् समीक्षा गलत होलिन् तर उनी उमेरले नादान थिइन्।

पल शाह त्यति माथि पुगेको मान्छेले कानून नबुझ्नु पलको कमजोरी हो। पल र सन्दीपलाई जोड्न मिल्दैन। कहाँको पल अंकल उमेरको, कहाँको सन्दीप टीन एजको युवा।’

ढकालले अर्को स्टाटसमा समीक्षालाई यस विषयमा कानूनी उपचार खोज्न समेत सुझाव दिएका छन्। टिकटकमा भने अधिकांश प्रतिक्रिया कमलाको समर्थनमा छन्।

टिनएजर केटीहरूले कानूनको आडमा केटाहरूलाई फसाएर जेल पुर्‍याउने विकृति बढेको भन्दै सत्य उजागर गरेकोमा धेरैले कमलालाई धन्यवाद समेत दिएका छन्। संयोग हो वा के हो यो गीत सार्वजनिक भएको दुई दिनपछि गायिका समीक्षा अधिकारीले मध्यरातमा हताश स्टाटस लेखेकी थिइन्।

केही बेरमा उनले सो स्टाटस हटाइन्। स्रोतका अनुसार केही दिनदेखि समीक्षाको मानसिक स्वास्थ्य राम्रो छैन। यो गीत र यसमा आएका प्रतिक्रियाहरूले उनलाई फेरि चोट थपेको निकट स्रोतको भनाइ छ।

Facebook Comments Box

Related posts