समाचार Football अन्तर्राष्ट्रिय खेलकुद 

यी हुन् ‘कतार विश्वकप’ का ८ स्मरणीय क्षण

काठमाडौँ

अर्जेन्टिनाले कतार विश्वकप २०२२ को उपाधि उचालेसँगै २२ औँ संस्करण सकिएको छ। लुसैल स्टेडियममा आइतबार राति भएको खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले तेस्रोपटक विश्वकपको उपाधि जितेको हो। कतार विश्वकप खेलाडीको व्यक्तिगत कीर्तिमान होस् वा टोलीको अप्रत्यासित नतिजाले चर्चामा रह्यो।

पुर्व विश्व विजेता टोली पराजित हुँदा कमजोर मानिएका टोलीले दमदार प्रदर्शन गरे। यही विश्वकपमा पहिलो पटक दक्षिण एसियाका ३ टोलीले नकआउट चरणमा स्थान बनाउँदा मोरक्को ऐतिहासिक रुपमा सेमिफाइनलसम्म पुग्दै इतिहास रच्न सफल भयो।

कतार विश्वकपको केही स्मरणीय क्षणको यहाँ चर्चा गरिएको छ-

अर्जेन्टिनाविरुद्ध साउदी अरेबियाको जित : समुह चरणको पहिलो खेलमा नै अर्जेन्टिनालाई हराएर साउदी अरेबियाले सनसनी मच्चाएको थियो। खेलको सुरुवातमा नै १–० ले पछि परेको साउदीले उत्कृष्ट पुनरागमन गर्दै २–१ को ऐतिहासिक जित दर्ता गरेको थियो।

साउदीसँग पराजित भएको अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको थियो। दुई पटकको विश्व विजेता अर्जेन्टिनालाई हराउँदै साउदीले सबैलाई स्तब्ध पारेको थियो।

मोरक्कोसँग स्पेन पराजित : सन् २०१० को विश्व विजेता स्पेन नकआउट चरणमा मोरक्कोसँग पराजित हुँदै विश्वकपको यात्रा सकाएको थियो। नकआउट चरणको खेलमा निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा मोरक्कोले स्पेनलाई ३–० ले पराजित गरेको थियो।

रामोसको ह्याट्रिक : पोर्चुगिज राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक फर्नान्डो सान्तोषले कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्दै रामोसलाई सुरुवाती रोजाइमा नै मैदान उतारेका थिए।

पहिलो खेलमा रोनाल्डोको स्थान लिएर मैदान छिरेका रामोसले स्वीटजरल्याण्डविरुद्ध सुरुवातमा नै मौका पाएका थिए। रोनाल्डोको स्थान लिएका रामोसले कतार विश्वकपमा नै पहिलो ह्याट्रिक गर्दै सनसनी मच्चाएका थिए। कतार विश्वकपमा ह्याट्रिक गर्ने रामोस पहिलो खेलाडी हुन्। ह्याट्रिक गरेसँगै रामोसले सन् १९६२ मा हंगेरीका फ्लोरियन अल्बर्टपछि विश्वकपमा ह्याट्रिक गर्ने कान्छा खेलाडी बने।

पोर्चुगलविरुद्ध योसुफको विजयी गोल : नकआउट चरणमा स्पेनलाई पराजित गर्दै घर फर्काएको मोरक्कोले क्वार्टरफाइनलमा पोर्चुगललाई हराएको थियो। पहिलो रोजाइमा बेन्चमा बसेका रोनाल्डो खेलको ५१ औँ मिनेटमा मैदान छिरेका थिए। पोर्चुगललाई १–० ले पराजित गर्दा मोरक्कोका योसुफ इन–नेस्री नायक बने।

पोर्चुगलविरुद्ध सानदार जित निकाल्दा योसुफले रोनाल्डोको सुई… सेलिब्रेसन गरे। पोर्चुगललाई स्तब्ध पार्दै मोरक्को सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन तथा अरब राष्ट्र बन्यो।

बोउफल र आमाको नाच : कतार विश्वकपमा हरेक जितको श्रेय र खुसीयाली खेलाडीले आफ्नो आमासँग बाँडेको दृश्यले सबैको ध्यान तानेको थियो। मोरक्कोका प्रशिक्षकदेखि खेलाडीसम्म सबैले आफ्नो आमासँग नाचेका थिए।

क्वार्टरफाइलनमा पोर्चुगललाई १–० ले हराउँदै मोरक्कोले पहिलो पटक विश्वपको सेमिफाइनलमा स्थान बनायो। सेमिफाइनलमा पुगेसँगै बोउफल आफ्नो आमासँग मैदानमा नाचेको दृश्यले सबैको ध्यान तानेको थियो।

स्पेनविरुद्ध जापानको जित : समुह चरणको खेलमा एसियन टोली जापानले स्पेनलाई २–१ ले पराजित गर्यो। खेलको ११ औँ मिनेटमा स्पेनले अग्रता बनाएपनि ४८ औँ मिनेटमा जापानले बराबरी गोल फर्काएको थियो।

५१ औँ मिनेटमा आओ तनाकाले गोल गर्दै जापानलाई २–१ को अग्रता दिलाएका थिए। उनले गरेको त्यो गोल विवादित बनेको थियो। त्यसपछि फिफाले नै यो गोलको विषयमा स्पष्टीकरण दिएको थियो।

नाटकीय फ्री–कीक : कतार विश्वकपको क्वार्टरफाइनलमा अर्जेन्टिनाविरुद्धको खेलमा नेदरल्याण्ड्सले नाटकीय रुपमा खेललाई बराबरीमा ल्याउँदै खेललाई टाइब्रेकरसम्म पुर्याएका थिए।

खेलको अन्तिम मिनेटमा ओउट वेगहोस्र्टले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याएका थिए। फ्रिकीक अवसरलाई सदुपयोग गर्दै नेदरल्याण्ड्सले खेललाई टाइब्रेकरसम्म लगेका थिए। जुन फ्रिकीक प्रहारलाई विश्वकप इतिहासकै चतुर प्रहारको रुपमा चर्चा भइरहेको छ।

उत्कृष्ट फाइनल : कतार विश्वकपको अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेल भने निकै रोमाञ्चक बन्यो। पहिलो हाफमा २–० ले अगाडि रहेको अर्जेन्टिना निर्धारित ९० मिनेटको समयमा २–२ को बराबरीमा पुगेको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीले १–१ गोल फर्काए।

सो क्रममा फ्रान्सका केलियन एमबाप्पे विश्वकपको फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने। गोल्डेन बुटसमेत जितेका उनले प्रतियोगितामा समग्रमा ८ गोल गरे। फाइनलमा अर्जेन्टिनाका लियोनेल मेस्सीले २ गोल गरेका थिए। उनले समग्र प्रतियोगितामा ७ गोल गरे। दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि पेनाल्टी सुटआउटमा गएको खेलमा अर्जेन्टिनाले बाजी मार्‍यो।–नेपालखबरबाट

Facebook Comments Box

Related posts