खेलकुद Cricket 

नेपालले ओमानलाइ ८४ रनले हरायो । कुशलले नेपालबाट सबैभन्दा कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाउने कीर्तिमान पनि बनाए

काठमाडौँ — कुशल मल्लको शतकमा नेपालले एसीसी प्रिमियर कप क्रिकेटमा शुक्रबार ओमानमाथि प्रभावशाली विजय हात पार्दै एसीसी प्रिमियर कपको सेमिफाइनल प्रवेश सम्भावना औपचारिकतातर्फ बढाएको छ । कुशलको १ सय ८ रनमा नेपालले ओमानलाई ८४ रनले पराजित गरी आफ्नो ५० औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल स्मरणीय बनाएको हो ।

टस हारेपछि ब्याटिङ गर्न आएको नेपालको सुरुआत दयनीय थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो रन बटुल्न २८ बल लगाएको नेपालले त्यसअघि नै दुवै ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई शून्यमा गुमाएको थियो । कुशल मल्लको डरविहीन ब्याटिङपछि नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई ३ सय १० रनको स्कोर खडा गर्‍यो । नेपालले पहिलोपल्ट एकदिवसीयमा ३ सय रनको स्कोर छोएको हो ।
१९ वर्षे कुशल एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने नेपालका छैटौं खेलाडी हुन् । यसअघि पारस खड्का, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेखले शतक बनाएका थिए । कुशलले नेपालबाट सबैभन्दा कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाउने कीर्तिमान पनि बनाए । दुई महिनाअघि कीर्तिपुरमै स्कटल्यान्डविरुद्ध ८१ रन बनाउनु कुशलको व्यक्तिगत उच्च स्कोर थियो ।

३९ औं ओभरमा अकिब इल्याजको बलमा छक्का प्रहार गर्दै कुशलले ५९ बलमा शतक पूरा गरेका थिए । थोरै बल खेलेको हिसाबमा एकदिवसीय अन्तर्राष्ट्रियमा यो ३० औं तीव्र शतक हो । ४१ औं ओभरमा इल्याजकै बलमा कुशलले लङअफमा क्याच दिन पुगे । उनले कुल ६४ बल खेल्दै ९ चौका र १० छक्का प्रहार गरे । नेपाली खेलाडीले एकै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान पनि कुशलले आफ्नो नाममा लेखाए ।

कप्तान रोहित पौडेल २३ रनमा आउट भए । उनले ३४ बल खेल्दै २ चौका प्रहार गरे । भीम सार्कीले ३३ रन बनाउनेक्रममा ५६ बल खेलेर ४ चौका र १ छक्का प्रहार गरे । कुशलले आरिफ शेखसँग चौथो विकेटमा ७५ रनको साझेदारी गरे । आरिफले ४३ बल खेल्दै २ चौकासहित २९ रन बनाए । दीपेन्द्रसिंह ऐरी ७ र सन्दीप लामिछाने ८ रनमै आउट भए ।

नेपालले अन्तिम १० ओभरमा ९२ रन जोडेको थियो, त्यसमा सोमपाल कामी र करण केसीले नवौं विकेटमा ३२ बलमा अविजित ६१ रन जोडेका थिए । सोमपालले ४८ बलमा अविजित ६३ रन बनाए । यो उनको दोस्रो अर्धशतक हो । उनले ९ चौका प्रहार गरे । करणले १५ बलमा २ चौका र १ छककासहित अविजित २९ रन बनाए ।

ओमानलाई ४६.३ ओभरमा २ सय २६ रनमा अलआउट गरेपछि नेपालले प्रतियोगितामा लगातार दोस्रो विजय हात पार्‍यो । फिल्डिङ गर्नेक्रममा चोट लागेका कारण इल्याज ब्याटिङमा आएनन् । मोहम्मद नदिमले ओमानबाट सर्वाधिक ६५ रन बनाए । उनले ८४ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । सन्दीप गोउडले ५६ बलमा ३ चौका र २ छक्कासहित ४६, कश्यप प्रजापतिले २५, जतिन्दर सिंहले १५, आदिल सफिकले १३, आयान खानले २९ र फायाज बटले १९ रन बनाए ।

नेपालबाट सन्दीप लामिछाने र करणले ३–३ विकेट लिए । सफिकलाई एलबीडब्लु आउट गरेपछि सन्दीपले ४२ खेलमा एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा चाँडो १ सय विकेट लिने कीर्तिमान बनाए । यसअघि अफगानिस्तानका रशिद खानले ४४ खेलमा १ सय एकदिवसीय अन्तर्राष्ट्रिय विकेट लिएका थिए । दीपेन्द्रसिंह ऐरीको नाममा २ र ललित राजवंशीको नाममा १ विकेट रह्यो ।

नेपालले अब साउदी अरेबिया र कतारसँग समूह ‘ए’ को अन्तिम दुई खेल खेल्ने छ । कीर्तिपुरमा जस्तै मूलपानी क्रिकेट मैदानमा पनि हावाहुरीले पटक–पटक खेल प्रभावित रह्यो । अंशुमन रथको १ सय ६ रनमा हङकङले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ६३ रन बनायो । यूएईले २७ ओभरमा ६ विकेट गुमाई १ सय १७ रन बनाएको अवस्थामा खेल हावाहुरीले प्रभावित भएपछि अगाडि बढ्न सकेन । डकवर्थ लुइस पद्धतिका आधारमा हङकङ ६७ रनले विजयी रह्यो ।

Facebook Comments Box

Related posts