खेलकुद Cricket 

मलेसियालाई हराएपछि यस्तो भन्छन् कप्तान रोहित

काठमाडौं

एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियामाथि ६ विकेटको शानदार जित हात पारेपछि कप्तान रोहितकुमार पौडेलले पछिल्लो प्रतियोगिता जितबाटै टुंग्याएको र नयाँ प्रतियोगिता पनि जितबाटै सुरूवात गरेको उल्लेख गर्दै खुसी व्यक्त गरेका छन्।

मंगलबार मलेसियामाथि जित हात पारेपछि पत्रकारसँग कुरा गर्दै कप्तान पौडेलले भने, ‘जहाँ फिनिस गरेका थियौं, त्यहीँबाट सुरू गरेका छौं। एकदम खुसी छौं।’ पछिल्लोपटक नेपालले घरेलु मैदानमै आइसिसी लिग २ अन्तर्गतको खेलमा युएईलाई डिएल मेथडबाट ९ रनको रोमाञ्चक जित निकालेको थियो। सोही जितसँगै नेपाल सोझै विश्वकप छनोटमा पुगेको थियो।

मंगलबार पनि कीर्तिपुरस्थित त्रिवि मैदानमा मलेसियामाथि जित हात पार्दै नेपालले एसिसी मेन्स प्रिमियर कपमा विजय सुरूवात गरेको हो।

कप्तान पौडेलले आजको खेलमा सुरूवाती पावर प्लेमा प्रदर्शन राम्रो नभए पनि त्यसपछि खेल लयमा फर्किएको उल्लेख गर्दै जित हात पार्न सजिलो भएको बताए। उनले २५० रनभन्दा तलको लक्ष्य पाएको अवस्थामा लक्ष्य पछ्याउन सजिलो हुने अनुमान गरिएकोमा सोचेअनुसार नै प्रदर्शन भएको जनाए।

अब नेपालले दोस्रो खेलमा ओमानसँग खेल्ने छ। खेल कीर्तिपुरस्थित त्रिवि मैदानमै हुने छ। नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरबिया छन्। ओमान समूहको सबैभन्दा बलियो प्रतिद्वन्द्वी रहेको उल्लेख गर्दै कप्तान पौडेलले ओमानलाई हराउन सके समूहको शीर्ष स्थानमा पर्ने सम्भावना बढी हुने बताए।

‘ओमान हाम्रो समूहकै बलियो टिम हो भन्ने लाग्छ। त्यो खेल जित्यो भने चाहि यो समूहमा शीर्षमा पर्ने मौका हुन्छ,’ उनले भने। यसैगरि समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्। समूहका शीर्ष दुई टोली सेमिफाइलनमा पुग्ने छन् भने प्रतियोगिताका विजेताले आगामी सेप्टम्बरमा हुने एसिया कप खेल्ने छ।

सिंगापुरमाथि हङकङको शानदार जित

हङकङका बाबर हायत मंगलबारदेखि काठमाडौंमा सुरु भएको एसीसी प्रिमियर कप क्रिकेटमा शतक हान्ने पहिलो खेलाडी बनेका छन् । समूह बी अन्तर्गत मुलपानी क्रिकेट मैदानमा भएको खेलमा बाबरको शतक मदतमा हङकङले सिंगापुरमाथि ८ विकेटको शानदार जित निकालेको छ ।

सिंगापुरले दिएको १७५ रनको लक्ष्य बाबरले अविजित १०८ रन प्रहार गरेपछि हङकङले ३३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । बाबरले ९४ बल खेल्दा १० चौका र ६ छक्का प्रहार गरे । ‌ओपनर अंशुमन रथ व्यक्तिगत ६ रनमा आउट भएपछि क्रिजमा पुगेका बाबरले कप्तान तथा ओपनर निजाकत खानसँग १३२ रनको साझेदारी गरे ।

८९ बल खेलेका निजाकातले ३ चौका र १ छक्का प्रहार गरी ५१ रन बनाए । किन्चित शाह १ रनमा अविजित रहे । सिंगापुरका रमेश कालिमुथु र अरित्रा दत्तले समान १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२.१ ओभरमा सबै विकेट गुमाएर १७४ रन बनाएको थियो ।

सिंगापुरका कप्तान अरित्रा दत्तले सर्वाधिक ४९ रन बनाए । उनले ५७ बलमा ९ चौका प्रहार गरे । आर्यन मोदीले २१ र रमेश कालिमुथुले १८ रन बनाए । सिंगापुरलाई अलआउट गर्न हङकङका एहसान खानले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभरमा ३ मेडन राख्दै २४ रन मात्र खर्चिए । यासिम मुर्ताजाले १० ओभरमा १ मेडन राख्दै २५ रन खर्चेर ३ विकेट लिए । आयुश शुक्ला, बइजाज खान र मोहम्मद गाजानफरले समान १ विकेट लिए ।

Facebook Comments Box

Related posts