एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ, यस्तो छ खेल तालिका
काठमाडौं।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू-२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ । एन्फाले आइतबार प्यालेस्टाइन जाने नेपाली टोलीलाई बिदाइ गरेको हो । नेपाली टोली आइतबार नै त्यसतर्फ प्रस्थान गर्ने छन् ।
छनोटको पहिलो चरणमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा आयोजक प्यालेस्टाइन, युएई र नर्दन मारियाना आइल्याण्ड रहेको छ । नेपालले पहिलो खेलमा मार्च ८ मा प्यालेस्टाइनविरुद्ध खेल्नेछ ।
छनोटबाट समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् । दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ । उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू-२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
नेपाली टोली :
गोलकिपर: कविता विक, सावित्री किसन, लिला जोशी। डिफेन्डरः सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ।
मिडफिल्डरः तुलसा बोहरा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही। फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, सदिपा भोलन।
पीएसजीको रोमाञ्चक जित, मेस्सी र एम्बाप्पेको कीर्तिमानी प्रदर्शन
फ्रेन्च लिग वानमा आज बिहान सम्पन्न खेलमा पीएसजी विजयी भएको छ। नान्टेसविरुद्ध ४-२ गोलअन्तरले पीएसजी विजयी भएको हो। पीएसजीको जितमा पहिलो गोल सुपरस्टार लियोनल मेस्सीले गरे। केही दिनअघि फिफाको वर्षकै उत्कृष्ट खेलाडी घोषित भएका मेस्सीले खेलको १२औँ मिनेटमा गोल गरेका थिए।
त्यसपछि जोएन हड्जमले १७औँ मिनेटमा आत्मघाती गोल गरेपछि पीएसजी २-० ले अघि बढ्यो। लुडोभिच ब्लासले ३१औँ मिनेटमा गोल गर्दै नान्टेसलाई २-१ को स्थितिमा पुर्याए। इग्नाटियस गानागोले खेलको ३८औँ मिनेटमा गोल गर्दै २-२ मा पुर्याए। तर, खेलको ६०औँ मिनेटमा डेनिलो पेरेराले गोल गर्दै पीएसजीलाई ३-२ को अग्रता दिलाए।
र, खेलमा ९०+२ मिनेट हुँदा फ्रान्सका सुपरस्टार किलियन एम्बाप्पेले गोल गर्दै पीएसजीलाई ४-२ को जित दिलाए। योसँगै एम्बाप्पेले पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूची आफ्नो नाम लेखाएका छन्। यसअघि यो कीर्तिमान एडिन्सन कभानीसँग थियो। उनले पीएसजीका लागि २०० गोल गरेका थिए। एम्बाप्पेको गोल सङ्ख्या २०१ पुगेको छ।
यस्तै मेस्सीले पनि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। युरोपको शीर्ष पाँच लिगमा आबद्ध क्लबका लागि खेलेर ७०१ गोल गर्ने खेलाडीको सूचीमा अब रोनाल्डो र मेस्सी मात्र छन्। रोनाल्डो यतिबेला साउदी अरेबियन क्लब अल नासरमा छन्। त्यसैले रोनाल्डोको यो कीर्तिमान छिट्टै भङ्ग हुनसक्छ।
पीएसजीका लागि भने मेस्सीको गोल सङ्ख्या २९ पुगेको छ। र, अर्को रोचक तथ्य के हो भने गोल र असिस्ट दुवै जोड्दा यो मेस्सीको १०००औँ गोल हो। सन् २००४ मा डेब्यू गरेयता मेस्सीले बार्सिलोना र पीएसजीका लागि ७०१ गोल र २९९ असिस्ट गरेका छन्। गोल र असिस्ट दुवै जोड्दा सन् २००२/०३ को सिजनबाट डेब्यू गरेका रोनाल्डोको सङ्ख्या ९१२ मात्र छ। यस जितसँगै पीएसजीले २६ खेलमा ६३ अंक जोडेको छ। पीएसजी शीर्ष स्थानमा कायम रहेको छ । नान्टेस २८ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।