खेलकुद Football 

मनाङको अर्को शानदार जित, यी हुन् गोल गर्ने खेलाडी

काठमाडौं

मनाङ मर्स्याङ्दी क्लबले नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दसरथ रंगशालामा बुधबार न्युरोड टिम एनआरटीलाई ३-१ गोल अन्तरले हराउँदै मनाङले दोस्रो जित निकालेको हो ।

मनाङको जितमा रोशन राना मगर, सेदजामोल दाभ्लातजोनोभ र कोफी टिमोथी कुडोले एक एक गोल गरे । एनआरटीका अशोक थापाले एक गोल फर्काए । खेलको ३९ औं मिनेटमा रोशनले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । रन्दिप पौडेलको क्रसमा पेनाल्टी बक्सभित्र रहेका रोशनले बल नियन्त्रणमा लिदै उत्कृष्ट गोल गरे ।

खेलको ६९ औं मिनेटमा उज्वेकिस्तानका विंगर सेदजामोलले पेनाल्टीबाट गोल गर्दै मनाङलाई २-० को अग्रता दिलाए। एनआरटीका गौरव श्रेष्ठले सेदजामोललाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मनाङले पेनाल्टी पाएको थियो ।

खेलको ८७ औं मिनेटमा कोफीले गोल गर्दै मनाङलाई ३-० को अग्रता दिलाए । उनले एकल प्रयासमा गोल गरेका हुन्। त्यसपछि खेलको इन्जुरी समयमा एनआरटीका अशोकले गोल गरेपनि मनाङ ३-१ ले विजयी भयो । गौरवको पासमा अशोकले हेडमार्फत गोल गरे । जितसँगै मनाङले ४ खेलमा ८ अंक जोडेको छ । एनआरटीको यो तेस्रो हार हो । एनआरटीले ४ खेलमा जोडेको छ ।

एपीएफ क्लबले नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ । च्यासल मैदानमा बुधबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले हराउँदै एपीएफले दोस्रो जित निकालेको हो ।

एपीएफको जितमा मणि कुमार लामाले निर्णायक गोल गरे । खेलको ३७ औं मिनेटमा मणिले निर्णायक गोल गरेका हुन् । विपिन श्रेष्ठको क्रसमा अनमार्क रहेका मणिले वान टचमा गोल गरे । त्यसबाहेक दुबै टोलीले थुप्रै गोलको अवसर खेर फालेका थिए ।

खेलको१२ औं मिनेटमा एपीएफका कप्तान नविन लामाको फ्रिकिकमा सनिश श्रेष्ठको हेडर पोस्ट माथिबाट बाहिरिएको थियो । १४ औं मिनेटमा आर्मीका दिनेश हेन्जनको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

खेलको २० औं मिनेटमा आर्मीका दिनेशको कर्नरमा आर्मीका विकास खवासले पेनाल्टी क्षेत्रभित्रबाट बाहिर प्रहार गरे। २८ औं मिनेटमा आर्मीका कप्तान भरत खवासले बाहिर प्रहार गरे ।

खेलको २९ औं मिनेटमा आर्मीका दिनेशको क्रसमा एपीएफका गोलकिपर संजित श्रेष्ठले रोक्न नसेको बललाई सबिन थापाले क्लियर गर्दै खतरा टारे । खेलको ३८ औं मिनेटमा आर्मीका कप्तान भरतले पेनाल्टी बक्स भित्रबाट प्रहार गरेको बल पोस्टको माथिबाट बाहिरिएको थियो ।

६३ औं मिनेटमा एपीएफका मणिको प्रहार पोस्टको माथिबाट बाहिरिएको थियो । जितसँगै एपीएफले ४ खेलमा ७ अंक जोडेको छ । आर्मीको यो पहिलो हार हो । आर्मीले ४ खेलमा ५ अंक जोडेको छ ।

Facebook Comments Box

Related posts