खेलकुद Football 

एपीएफमाथि मनाङको उत्कृष्ट पुनरागमन जित, यी हुन् गोल गर्ने खेलाडी

काठमाडौं

मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पुनरागमन जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार मनाङले एपीएफ क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।

मनाङको जितमा कमल थापा र सेदजामोल दाभ्लातजोनोभले एक/एक गोल गरे । एपीएफका अर्मान्ड बिडोमले एक गोल गरे ।

खेलमा एक गोलको सुरुआती अग्रता उल्टाएर मनाङले जित निकालेको हो । ३३ औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । नविन लामाको क्रसमा बिडोमले हेडरमार्फत गोल गरे ।

तर, खेलको ५२ औं मिनेटमा कमल थापाले गोल गर्दै मनाङलाई १-१ गोलको बराबरीमा ल्याए । सुमित श्रेष्ठले एपीएफका बिकी तामाङलाई बिट गर्दै उपलब्ध गराएको पासमा कमलले वान टचमा गोल गरे । त्यसपछि खेलको ७२ औं मिनेटमा उज्वेकिस्तानका विंगर सेदजामोलले गोल गर्दै मनाङलाई २-१ को जित दिलाए ।

यस्तै, सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ । च्यासल मैदानमा शनिबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले हराउँदै आर्मीले दोस्रो जित निकालेको हो । प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने फ्रेन्ड्सले बनाएको थियो ।

खेलको छैटौं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको २४ औं मिनेटमा गिल्स्पे जंग कार्कीले गोल गर्दै आर्मीलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा दिपक गुरुङले गोल गर्दै आर्मीलाई २-१ को जित दिलाए । जितसँगै आर्मीले ५ खेलमा ८ अंक जोडेको छ । फ्रेन्ड्सले ५ खेलमा ४ अंक जोडेको छ।

यसैगरी विभागीय टोली नेपाल पुलिस क्लबले नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो अंक जोडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार न्युरोड टिम एनआरटीसँग १-१ गोलको बराबरी खेल्दै पुलिसले पहिलो अंक जोडेको छ ।

पुलिसले एक गोलको अग्रता उल्टाएर एनआरटीसँग बराबरी खेलेको हो । यस अघि पुलिसले लगातार चार खेलमा हार व्यहोरेको थियो । रोमान्चक खेलमा दुबै गोल दोस्रो हाफमा निस्किएको थियो ।

खेलको ६४ औं मिनेटमा दोस्रो हाफमा मैदान छिरेका सन्जिब विष्टले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए । एनआरटी र पुलिसका डिफेन्डरबीच डिफ्लेक्ट हुँदै आएको बल पुलिसका गोलकिपर संजित श्रेष्ठले क्लियर गर्न नसकेको बललाई सन्जिबले पोस्टको जाली चुमाए ।

तर, खेलको ७५ औं मिनेटमा प्रताप गुरुङले गोल गर्दै पुलिसलाई १-१ गोलको बराबरीमा ल्याए । उनले खेलको ७५ औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गरे । त्यसबाहेक दुबै टोलीले पाएको केहि अवसरलाई सदुपयोग गर्न सकेनन् ।

खेलको १८ औं मिनेटमा एनआरटीका लालनुनजामाको सशक्त प्रहारले पोस्टको दिशा लिन सकेन । २० औं मिनेटमा निकोलस सङको क्रसमा दिपेश आले मगरको हेडर पोस्टमा लाग्दै बाहिरिदा एनआरटीले अग्रता लिने मौका गुमाएको थियो ।

पुलिसका हेम तामाङले २५ औं मिनेटमा प्रहार गरेको बल पोस्ट भन्दा माथिबाट बाहिरियो । ३५ औं मिनेटमा पुलिसका हेमले पेनाल्टी स्पटबाट गरेको फितलो प्रहार एनआरटीका गोलकिपर पुजन होनाले सहजै आफ्नो पन्जामा पारे ।

खेलको ४३ औं मिनेटमा पुलिसका प्रताप गुरुङको फ्रिकिक पोस्ट भन्दा निकै माथिबाट बाहिरिएको थियो । पहिलो अंक जोडेसँगै पुलिसले ५ खेलमा १ अंक जोडेको छ । पुलिस अंक तालिकाको पुछारमा रहेको छ । एनआरटी ५ खेलमा २ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

Facebook Comments Box

Related posts