वेष्ट इण्डिजले नेपालसँगै विश्वकप छनोट खेल्ने, यस्तो छ तालिका
काठमाडौं ।
राष्ट्र वेष्ट इण्डिजले नेपालसँगै विश्वकप छनोट प्रतियागिता खेल्ने भएको छ । वेष्ट इण्डिजले विश्वकप सुपर लिगको शीर्ष ८ मा रहेर सिधा विश्वकप खेल्ने अवसर गुमाएको छ । आईसीसी एकदिवसीय विश्वकपमा छनोट हुनका लागि जिम्बाब्वेमा आयोजना हुने विश्वकप छनोट खेलमा वेष्ट इण्डिजले सहभागीता जनाउने भएको छ।
सुपर लिगको आजको खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गरेसँगै वेष्ट इण्डिजले सिधा विश्वकप छनोटको अवसर गुमाएको हो। सुपर लिगमा सहभागी रहेका श्रीलंका, जिम्बाब्वे र नेदरल्यान्ड्सले यसअघि नै विश्वकप छनोट खेल्ने पक्का भइसकेको छ। त्यसमा अब वेष्ट इण्डिज पनि थपिएको छ ।
१३ राष्ट्र सहभागी सुपर लिगबाट आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्यूजिल्याण्ड, बंगलादेश, इंग्ल्याण्ड र अफगानिस्तान छनोट भइकेका छन्। बाँकी एक स्थानमा दक्षिण अफ्रिका र आयरल्याण्डको सम्भावना रहेको छ। वेष्ट इण्डिज २४ खेलमा ९ मा जित र १५ मा हारसहित ८८ अंकका साथ आठौं स्थानमा रहेको थियो।
दक्षिण अफ्रिकाको पहिलो खेलमा जितसँगै समान ८८ अंकमा रहेपनि रनरेटका आधारमा पछि रहेर वेष्ट इण्डिजको विश्वकपमा सिधा छनोटको सपना अधुरै रहेको हो। विश्वकप छनोटमा लिग टू बाट नेपाल, स्कटल्याण्ड र ओमानले स्थान बनाएका छन्।
आगामी साता सम्पन्न हुने ६ देश सम्मिलित प्लेअफ क्वालिफायरमा नामिबिया, जर्सी, क्यानडा, अमेरिका, यूएई र पपुवा न्युगिनीबाट शीर्ष दुई टोलीले विश्वकप छनोटमा पुग्नेछन्। विश्वकप छनोट आगामी १८ जुनदेखि ९ जुलाईसम्म जिम्बाब्वेमा आयोजना गर्ने आईसीसीको तालिका छ।
नेपाली क्रिकेट टिमका लागि आयो अर्को ठूलो खुसीको खबर
नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि एउटा खुसीको खबर आएको छ। नेपालले आफ्नो ५०औं एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) खेल घरेलु मैदान टियुमा खेल्ने भएको छ। एसीसी प्रिमियर कपअन्तर्गत आगामी महिना नेपाल र ओमानबीच आगामी महिना हुने खेलमा नेपालले आफ्नो ५० औं ओडिआई खेल खेल्ने छ।
सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले हालसम्म ४९औं ओडिआई खेलेको छ। नेपालको ५० औं ओडिआई खेल टियु मैदानमा वैशाख ८ मा ओमानसँग हुनेछ। नेपालमा आयोजना हुने एसीसी प्रिमियर कप प्रतियोगितामा एकै समूहमा रहेका नेपाल र ओमान ओडिआई मान्यता देश हुन्। त्यसैले उक्त खेल ओडिआई मान्यता हुनेछ।
नेपालले आफ्नो पहिलो ओडिआई खेल २०१८ अगष्ट १ मा नेदरल्याण्ड्ससँग नेदरल्याण्ड्समा नै खेलेको थियो। दुई खेलको सिरिजमा पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो खेलमा भने रोमान्चक १ रनको जित हात पारेको थियो। नेपालले ४९ ओडिआई खेलमा २६ मा जित, २१ मा हार, एकमा बराबरी र एक खेलमा नतिजाविहीन छ।
यसबीचमा नेपालले ७ देशसँग ओडिआई खेल खेलेको छ। नेपालले युएई, पपुवा न्युगिनी (पीएनजी), स्कटल्याण्ड, नामिबिया, ओमान, अमेरिका र नेदरल्याण्ड्ससँग ओडिआई खेल खेलेको छ। ४९ मध्ये नेपालले आईसीसी विश्वकप लिग टू मा ३६ खेल खेलेको थियो।
बाँकी १२ खेल दुई देशिय सिरिजको रूपमा नेदरल्याण्ड्स २, युएईसँग ६ र पीएनजीसँग ४ खेल खेलेको थियो। एक खेल एसिया कप छनोट प्रतियोगितामा युएईविरुद्ध खेलेको थियो। नेपालले ओडिआई मान्यता प्राप्त सबैभन्दा धेरै खेल युएईसँग १३ र सबैभन्दा कम नेदरल्याण्ड्ससँग २ खेल खेलेको छ।
नेपालले युएईसँग १३ खेलमा खेलेकोमा ७ मा जित र ६ खेलमा पराजित भएको थियो। पीएनजीसँग नेपालले १० खेलमा खेलेकोमा ८ मा जित र २ मा हार व्यहोरेको थियो। नामिबियासँग ६ खेलमा २ मा जित, ३ मा हार र एक खेल वर्षाको कारण नतिजाविहीन बनेको थियो। अमेरिकासँग ६ खेलमा खेलेकोमा ३ मा जित, २ मा हार र एक खेल बराबरी भएको थियो।
स्कटल्याण्डसँग ६ खेलमा खेलेकोमा ३ मा जित र ३ मा हार रहेको थियो। ओमानसँग ६ खेलमा खेलेकोमा २ मा जित र ४ मा हार व्यहारेको थियो। नेदरल्याण्डससँग दुई खेल खेल्दा समान एक मा जित र एकमा हार व्यहोरेको थियो।
यस बीचमा नेपालले पपुवा न्युगिनी र युएईसँग समान २२ सिरिज खेलेको छ। नेपालले २०१९ मा युएईलाई उसकै भूमिका तीन खेलको सिरिज २–१ ले हराएको थियो। २०२२ मा घरेलु मैदानमा नेपालले युएईलाई २–१ ले हराएको थियो। २०१८ मा नेपालले युएईसँग एसिया कप छनोटमा खेलेको एक खेलमा नेपालले हार व्यहोरेको थियो।
पीएनजीसँग नेपालले २०२१ मा ओमानमा दुई खेलको सिरिज क्लिनस्विप गरेको थियो। २०२२ मा नेपालमा नै भएको दुई खेलको ओडिआई सिरिजमा पीएनजीले क्लिन स्विप गरेको थियो। नेपालले आफ्नो ४९औं ओडिआई खेल भने युएईको विरुद्धमा खेलेको थियो।