खेलकुद Football 

मेस्सीलाई भित्र्याउन चाहन्छन् यी ठूला क्लब, हुनसक्छ पैसाको वर्षा

काठमाडौं

अर्जेन्टाइन क्याप्टेन लियोनल मेसीलाई क्लब फुटबलका लागि अफरको वर्षा छ । साउदी अरेबिया, अमेरिकाका क्लबले उनलाई अनुबन्ध गर्ने प्रस्तावको तयारी गरिरहेको समयमा बार्सिलोनाले पनि उनलाई घर फर्काउन चाहेको बताएको छ । मेसीको आगामी संभावनाबारे स्पानिस फुटबल विज्ञ गिजेम वालेगले भनेका छन्, ‘लियोनल मेसीको आगामी फुटबल यात्राबारे सबै किसिमका संभावनाहरू खुलानै छन् ।’

उनलाई बार्सिलोनाले फर्काउन लागेको गिजेमको भनाइ छ । तर हालसम्म कतैबाट पनि आधिकारिक पत्र भने मेसीले प्राप्त गरेका छैनन् । हाल अनुबन्ध रहेको क्लब पीएसजीमै अर्को एक वर्ष सम्झौता नवीकरण गर्ने सैद्धान्तिक सहमति मेसीले गरेको दाबी केही मिडियाले गरेका छन् । पिएसजीमा दुई सिजन बिताएका मेसीलाई एकवर्ष क्लबमै कुनै समस्या नरहेको क्लबको विश्वास छ।

यद्यपि ज्याला घटाउनुपर्ने दबाब पिएसजीमा रहेकाले मेसीले के गर्लान् अझै भन्न सकिने स्थिति नरहेको वालेग बताउँछन् । ‘पिएसजीले मेसीलाई विगतकै वित्तीय सुविधा दिने बताएकाले उनलाई रहन कुनै पनि समस्या नहोला तर उनीहरूले ज्याला घटाउन खोजेकाले त्यस टीमको प्रस्तुतिमा असर नपर्ला भन्न सकिँदैन,’ वालेगले भनेका छन् ।

क्लबले टीम व्यवस्थापक हटाउन खोजेको छ भने टीमको लाइन अप पनि परिवर्तन गर्न खोजेको छ । लाइन अप परिवर्तन हुँदा पिएसजीमा मेसीको निरन्तरता अनिश्चयमा परेको वालेग बताउँछन् । ‘टीम व्यवस्थापक क्रिष्टोफ गालिएरलाई हटाउँदै टीमको लाइन अप पनि फेर्न खोजेकाले मेसीको निरन्तरता सुनिश्चित छैन,’ उनले भने ।

सन् २०२२ को विश्वकप उपाधी अर्जेन्टिनालाई दिलाएपछि मेसीलाई आफ्नो क्लबमा अनुबन्ध लागि होडबाजी छ । युरोपियन फुटबलको लिग वानमा पिएसजी शीर्षस्थानमै छ । लिग वानको शीर्ष स्थानमा रहेको पिएसजी च्याम्पियन लिगको उपाधि भिडन्तमा वार्यन म्युनिखसँग स्तब्ध बन्न पुगेको थियो ।

मेसी बार्सिलोना फर्किएलान् ?

लियोनल मेसीले बार्सिलोनाबाट सर्वाधिक गोल गर्ने खेलाडी हुन् । बार्साको जर्सीमा ७७८ खेल खेल्दा उनले ६७२ गोल गरेका छन् । मेसीले सन् २०२१ मा बार्सिलोना छोडेका थिए । सन् २००० मा १३ वर्षको उमेरमा टिस्यु पेपरमा सम्झौता गरेर मेसी बार्सिलोना भित्रिएका थिए ।

गत साता मेसीलाई बार्सालेनै भित्र्याउन खोजेको समाचार सार्वजनिक भएको थियो । मेसीका पिता जर्ज मेसी र बार्साका अध्यक्ष जोअन लापोर्ताबीच बार्सिलोना होटलमा २५ मिनेट वार्ता भएको समाचार सार्वजनिक भएको थियो । यी दुईबीच मेसीको बार्सासँग सम्झौता तोड्ने बेलापछि पहिलोपटक भेट भएको हो। ‘यी दुईको भेट मेसीको आगामी भविष्यका लागि थिएन तर वार्साले मेसीलाई दिनसक्ने सम्मानका सवालमा दुई जनाबीच छलफल भएको थियो,’ वालेगले भने ।

दुईजनाबीचको संवादबारे लियो र लापोर्ताले मुख खोलेका छैनन् । क्लबका व्यवस्थापक जाभीको चाहानामा दुई जनाबीच संवाद भएको बुझिन्छ । वालेगका अनुसार जाभी मेसीसँग अन्य अवस्थामा पनि नियमत संवादमै हुनेगर्छन् । ‘जाभीले मेसीलाई बार्सा ल्याएर अर्जेन्टिनाकै लाइन अपमा राख्न खोजेका छन्,’ वालेग भन्छन् ।

मेसीले दुई वर्षअघि रकम घटाएरै भए पनि वार्सामा बस्न चाहेको बताएका थिए । तर क्लबले अन्तिम समयमा आएर मेसीलाई निरन्तरता दिन नसक्ने बतायो । ‘मेसीले क्लब छोड्दा जुन स्थितिमा बार्सा थियो अहिले पनि त्यही स्थितिमा छ । वित्तीय रूपमा बलियो नरहेको वार्साले अहिले मेसीलाई कसरी र किन भित्र्याउला ?’ वालेग प्रश्न गर्छन् ।

पीएसजीको स्पोर्टिङसँग मेसी सन्तुष्ट छैनन् । पैसामा मेसीलाई सन्तुष्ट गराउन नसके पनि क्लबमा विशेष भूमिका दिएर बार्साले डिल गर्न खोजेको देखिन्छ । ‘पीएसजीको स्पोर्टिङसँग सन्तुष्ट नरहेका मेसीलाई बार्साले मोटो रकम दिएर भित्र्याउन सक्दैन । तथापि विशेष भुमिका दिएर भित्र्याउने ध्याउन्न उसको छ,’ फुटबल जानकार वालेग भन्छन् ।

साउदीको चार सय मिलियन युरोमा मेसी लोभियलान् ?

साउदी अरेबियाको क्लबले पनि मेसीलाई भित्र्याउन प्रस्ताव गरेको छ । वालेगका अनुसार प्रति सिजन ४०० मिलियन युरो दिन क्लब तयार छ। मेसीलाई इन्टर मियामीले पनि प्रस्ताव गरिएको बुझिन्छ । ‘इन्टर मियामीले पीएसजी वा अल हियाललले जति पैसा दिन सक्दैनन् । तर मेसी धनाढ्य क्लबको दबाबमा बस्नु भन्दा मध्यम क्लबमा गएर कोपा अमेरिकाका लागि तयारी गर्ने मनस्थितिमा पनि पुगेका छन्,’ वालेगको बुझाइ छ ।

प्रस्तावको ओइरो आए पनि मेसीले कुनै निर्णय लिएका छैनन् । निर्णयमा पुग्नै पर्दा उनले कोपा अमेरिकालाई ध्यानमा राखेर लिने देखिन्छ । ‘बार्साबाट औपचारिक प्रस्ताव आएको छैन । साउदीको क्लबमा गएर पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँगै उनले पक्कै खेल्नेछैनन्। अफरको ओइरोकाबीच मेसी शान्त छन् र उनले कोपालाई केन्द्रविन्दुमा राखेर आगामी निर्णय लिनेछन्,’ वालेग भन्छन् ।

Facebook Comments Box

Related posts