खेलकुद Cricket 

आज मलेसियासँग खेल्दै नेपाल, यस्तो छ दुवैबीचको ‘हेड टु हेड’ नतिजा

काठमाडौं

एसियाली क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपको पहिलो खेलमा आज मंगलबार नेपालले मलेसियासँग खेल्दैछ । टियु मैदान कीर्तिपुरमा हुने खेल बिहान साढे नौबाट सुरु हुनेछ ।

नेपाल मलेसियाबीचमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) तथा एसीसीका प्रतियोगिताहरुमा धेरै पटक भेट भएको छ । नेपाल र मलेसियाबीचको पछिल्लो पाँच भेटमा नेपाल अपराजित रहेको छ ।

नेपाल र मलेसियाबीचको पछिल्लो भेट २०१८ को एसीया कप छनोट प्रतियोगितामा भएको थियो । मलेसियामा नै आयोजना भएको सो प्रतियोगितामा नेपाल १९ रनले विजयी भएको थियो । मलेसियामा नै आयोजना भएको विश्वकप क्रिकेट लिग डिभिजन थ्रीमा समेत नेपाल विजयी भएको थियो ।

२०१४ को अक्टोबर महिनामा आयोजना भएको खेलमा नेपालले डीएल मेथडमा ३६ रनको जित हात पारेको थियो । एसीसी प्रिमियर लिगमा २०१४ नेपाल र मलेसियाबीच खेल भएको थियो । मलेसियामा नै भएको सो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो ।

२०१२ को एसीसी ट्रफि एलिटको सेमिफाईनलमा नेपाल र मलेसियाबीच खेल भएको थियो। यस खेलमा नेपाल २१ रनले विजयी भएको थियो । नेपाल र मलेसियाबीचको खेल २०१२ को डिभिजन चारका क्रममा उसकै घरेलु मैदानमा भएको थियो ।

मलेसियालाई यस खेलमा नेपालले १० विकेटले जितेको थियो । उक्त खेलमा नेपालका शक्ति गौचनले १० ओभरमा २ रन खर्चिएर ३ विकेटको कीर्तिमानी बलिङ गरेका थिए ।

अन्तराष्ट्रिय खेलमा डेब्यु गर्दै मुलपानी

आज मंगलबार काठमाडौंमा रहेको मुलपानी क्रिकेट मैदानमा पहिलो अन्तराष्ट्रिय खेल हुने भएको छ । मंगलबारबाट नेपालमा सुरु हुन लागेको एसीसी प्रिमियर कप अन्तर्गतको पहिलो दिन हङकङ र सिंगापुरबीचको खेल मुलपानी मैदानमा हुदैछ ।

हङकङ र सिंगापुरबीचको खेल मुलपानी मैदानमा पहिलो अन्तराष्ट्रिय खेल हुनेछ । विभिन्न घरेलु प्रतियोगिताको आयोजना हुदै आएको मुलपानी मैदानमा पहिलो पटक अन्तराष्ट्रिय खेलको आयोजना हुन लागेको हो ।

यो खेलका साथै प्रतियोगिताका अन्य १० खेल समेत मुलपानीमा हुनेछ । मुलपानी मैदानमा बैशाख ६ गते ओमान र कतार खेल हुँदा बैशाख ७ गते मलेसिया र साउदी अरबियाबीच खेल हुनेछ।

मुलपानीमा हुने प्रतियोगिताको चौथो खेलमा बैशाख ८ गते युएई र हङकङबीच खेल रहेको छ । बैशाख ९ गते कुवेत र बहराईन तथा १० गते ओमान र मलेसियाबीच मुलपानी मैदानमा खेल हुनेछ ।

बैशाख ११ गते नेपाल र साउदी अरेवियाबीचको खेल मुलपानी मैदानमा रहेको छ । कतार र मलेसिया बैशाख १२ मा मुलपानीमा खेल्दा बैशाख १३ गते युएई र बहराईन खेल्ने छन् । बैशाख १४ गते हङकङ र कुवेतकाबीचमा समूह चरणको अन्तिम खेल मुलपानी मैदानमा रहेको छ । बैशाख १६ मा मुलपानी मैदानमा एउटा सेमिफइनलको खेल समेत रहेको छ ।

वैशाख १८ गतेसम्म संचालन हुने यस प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन भईरहेको छ । कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । प्रतियोगिताको १३ खेल टियुमा तथा ११ खेल मुलपानीमा आयोजना हुनेछ ।

यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहने छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ”एु मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेविया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छन् । फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसिया इमर्जिङ कपका लागि छनोट हुनेछ । एसिया इमर्जिङ कप आगामी जुलाईमा हुनेछ ।

Facebook Comments Box

Related posts