खेलकुद Football 

नेपालमा ठूलो फुटबलको माहोल बन्ने पक्का, यी ३ देशबीच हुनेछ खेल

काठमाडौं

सन् २०२४ मा हुने पेरिस ओलम्पिकका लागि महिला फुटबलको एसियाली छनोटको पहिलो चरणको छनोट प्रतियोगिताअन्तर्गत समूह ‘सी’ का खेल नेपालमा आयोजना हुने भएको छ। नेपाल छनोटको समूह ‘सी’ मा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तानसँगै छ।

एएफसीले नेपाललाई समूह सीको आयोजक राष्ट्रको रूपमा पुष्टि गरेको छ। प्यालेस्टाइन प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपालले भियतनाम र अफगानिस्तानसँग मात्र खेल्नेछ। पहिलो चरणका खेल अप्रिल ३ र ११ गते हुनेछन्।

समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ। उत्तर कोरिय, अष्ट्रेलिया, चीन, जापान र दक्षिण कोरिया यसअघि नै दोस्रो चरणको लागि छनोट भइसकेका छन्। तेस्रो राउण्डबाट शीर्ष दुई टोलीले पेरिस ओलम्पिक २०२४ मा आफ्नो स्थान सुरक्षित गर्नेछन्।

छनोटको तयारीमा नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। नेपालले फेब्रुअरी १५ मा भएको पहिलो खेल २–२ गोलको बराबरीमा खेलेको थियो भने फेब्रुअरी १८ मा भएको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेसन्स कप फुटबल प्रतियोगिता आयोजनाको तयारी गरेको छ । फागुन १९ गतेबाट सुरु हुने ए डिभिजन लिगको प्रारम्भिक ब्रेकपछि एन्फाले तीन देश सम्मिलित थ्री नेसन्स कप आयोजनाको तयारी गरेको हो ।

नेपालले आगामी चैतमा भुटान र लाओसलाई समावेश गर्दै प्रतियोगिता आयोजनाको तयारी थालेको हो । प्रतियोगिता आयोजनाका लागि एन्फाले कार्यसमिति बैठकमा प्रतियोगिता आयोजनाको एजेण्डा समेत समावेश गरेको छ । एन्फा कार्यसमिति बैठक फागुन १७ गते काठमाडौंमा बस्दैछ ।

‘भुटान र लाओसलाई समावेश गरेर थ्री नेसन्स कप आयोजना गर्ने तयारी छ । सोही अनुसार प्रक्रिया अघि बढेको छ । कार्यसमितिबाट पास गरेर चैतमा प्रतियोगिता गर्ने हो ।’ एन्फाका एक कार्यसमिति सदस्यले भने ।

नेपालले २०७७ सालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । कोभिडले थलिएको नेपाली फुटबललाई चलायमान बनाउन र आर्थिक रुपमा सबल बन्न भन्दै एन्फाले थ्री नेसन्स कप प्रतियोगिताको आयोजना गरेको थियो । कीर्गिस्तानको ओलम्पिक टिम र बंगलादेशको राष्ट्रिय टिमलाई प्रतियोगितामा समावेश गरेको थियो । फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल सिरिजको च्याम्पियन बनेको थियो ।

एन्फाले फागुन १९ गतेबाट सुरु हुने लिगको पाँचौ चरणसम्मको खेल तालिका सार्वजनीक गरेको छ । पाँचौ चरणको खेलपछि मोफसलका प्रतियोगितालाई समय दिने एन्फाले तालिका छ । पाँचौ चरणको खेलपछि मोफसलका चर्चित प्रतियोगिताहरु खप्तड गोल्डकप, विराट गोल्डकप, सिमरा गोल्डकप, तिलोतमा गोल्डकप, इटहरी गोल्डकप, कोहलपुर गोल्डकपले आयोजनाको स्विकृत पाएका छन् । सोही समयमा थ्री नेसन्स कप आयोजना गर्ने एन्फाको तयारी छ ।

राष्ट्रिय टिमका खेलाडीको विदेश पलायनले फुटबलप्रति आम सर्वसाधारणको चासो नकारात्मक देखिन्छ । थ्री नेसन्स कप आयोजना गरेर फुटबलको माहोल फर्काउने र आर्थिक संकटमा रहेको संस्थाको कोषलाई दरिलो बनाउने एन्फाको योजना देखिन्छ ।

Facebook Comments Box

Related posts