पञ्जावले जित्यो आई लिगको उपाधि, किरणले देखाए ‘गाेर्खाली पावर’
काठमाडौं।
नेपाली गोलकिपर किरणकुमार लिम्बु सम्मिलित राउण्ड ग्लास पञ्जाव एफसीले भारतको दोस्रो श्रेणीको फुटबल आई लिगको उपाधि जितेको छ । शनिबार भएको खेलमा राजस्थान युनाइटेडलाई ४-० ले पराजित गर्दै पञ्जावले एक खेल अघि नै उपाधि पक्का गरेको हो ।
पञ्जावले २१ खेलबाट ४९ अंङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको श्रिनिध डेकनको २० खेलबाट ४१ अंक छ र बाँकी दुवै खेल जितेपछि पञ्जावलाई भेट्ने छैन । आई लिग च्याम्पियन पञ्जावले अर्को सिजनको इन्डियन सुपर लिग (आईएसएल) मा समेत स्थान बनाएको छ । यस सिजनदेखि आई लिग च्याम्पियन टिमले शीर्ष श्रेणीको आईएसएलमा बढुवा हुने व्यवस्था लागु गरिएको हो ।
किरणले सन् २०१७-१८ को सिजनमा मिनेर्भा पञ्जावबाट खेल्दै आई लिग जिताएका थिए । नेपालका अर्का खेलाडी अन्जन विष्ट सम्मिलित केन्क्रे एफसी भने यो सिजनमा अन्तिम दुईमा रहेर आई लिगबाट रेलिगेसनमा परेको छ । जारी सिजनमा पनि किरणले प्रदर्शन शानदार रहेको छ। उनी हरेक खेलमा प्रमुख रोजाइमा पर्दै आएका छन्। जारी संस्करणको आई लिगमा उनले ११ खेलमा ‘क्लिन सिट’ राखेका छन्।
न्यूक्यासलमाथि म्यानचेष्टर सिटीको जित
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले न्यूक्यासललाई हराएको छ र, लिग लिडर आर्सनलमाथि दबाव कायमै राखेको छ । शनिबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन सिटीले न्यूक्यासललाई २–० गोल अन्तरले हराएको हो ।
इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले १५औं मिनेटमा फिल फोडेनको सोलो गोलबाट अग्रता लिएको थियो । न्यूक्यासलले खेलमा फर्किने प्रयास गरेको थियो । तर सब्सिच्युटका रुपमा मैदान प्रवेश गरेका बर्नाडो सिल्भाले ६७ औं मिनेटमा गोल गरेपछि सिटीले ३ अंक सुनिश्चित गर्यो ।
जितपछि म्यानचेष्टर सिटी २६ खेलबाट ५८ अंकका साथ दोस्रो स्थानमा छ । लिग लिडर आर्सनलको ६० अंक छ र, उसले एक खेल कम खेलेको छ । न्यूक्यासल भने २४ खेलबाट ४१ अंकका साथ पाँचौं स्थानमा छ ।
बार्सिलोना विश्वकै कठिन क्लब हो : जाभी
कोपा डेलरेमा चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदा पनि बार्सिलोनाको आलोचना भइरहेको छ । सेमिफाइनलको पहिलो लेगमा जम्मा ३५ प्रतिशत बल पोसेसन र विपक्षीको पोष्टमा चार प्रहार गरेको बार्सिलोनाले १–० को जित निकालेको थियो ।
यसलाई लिएर आलोचना भएपछि प्रशिक्षक जाभी हर्नान्डेजले भनेका छन्, ‘बार्सिलोना विश्वकै कठिन क्लब हो । हामीले रियल मड्रिडलाई हराएको छौं, तर यो चित्तबुझ्दो छैन ।’
भ्यालेन्सिनाविरुद्ध आइतबार हुने खेलअघि आयोजित प्रिम्याच कन्फ्रेन्समा जाभीले बार्सिलोनामा चिक्तबुझ्दो जित चाहिने बताए । आफूहरुको लक्ष्य पनि त्यही भएको तर, ला लिगा र च्याम्पियन लिगको डिफेण्डिङ च्याम्पियन भएको उनले सम्झाए । पेड्री, डेम्बेले लगायतका खेलाडी बिना सान्टिएगो बेर्नाबाउमा जितेको भन्दै उनले भने, ‘हामीले कठिन मैदानमा जितेका हो ।’