खेलकुद Football 

आज लाओससँग खेल्दै नेपाल, यस्तो छ दुवैबीचको हेड टु हेड नतिजा

काठमाडौं

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता आज बुधबारबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आज बुधबार लाओसको सामना गर्नेछ ।

नेपाल र लाओसबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । घरेलु मैदानमा नेपाल लाओसविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रनेछ । नेपाली टोलीका कप्तान किरण चेम्जोङले छोटो तयारी भएपनि लाओसविरुद्ध खेल्न नेपाली टोली तयार रहेको बताईसकेका छन् ।

‘छोटो समय भएपनि तयारी राम्रो छ । भोलिको खेलका लागि तयार छौँ । राष्ट्रका लागि राम्रो नतिजाका लागि फाइट गर्छौं,’ मंगलबार आयोजित प्रि-म्याच कन्फरेन्समा कप्तान किरणले भनेका थिए ।

प्रतियोगिताका लागि नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले अन्गल्बर किरणको कप्तानीमा २३ सदस्सीय टिम घोषणा गरिसकेका छन् । एनीसले घोषणा गरेको टोलीमा ६ जना नयाँ खेलाडी छन् ।

मुख्य प्रशिक्षक एनीसले प्रतियोगिताका लागि आफुले उत्कृष्ट खेलाडी छनोट गरेको बताए । उनले तयारी राम्रो भएको समेत बताए । ‘तीन दिन तयारी गर्यौं । राम्रो तयारी भयो । हामीसँग धेरै युवा खेलाडी छन्,’ उनले भने, ‘लिगबाट हामीले उत्कृष्ट खेलाडी छनोट गरेका छौँ ।’

नेपालले २०१६ पछि पहिलो पटक लाओससँग खेल्न लागेको हो । एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा भएको थियो । जसमा २-२ गोलको बराबरीपछि नेपालले पेनाल्टीमा ३-० ले खेल जितेको थियो।

लाओसका मुख्य प्रशिक्षक माइकल वेसले आफुसँग युवा टोली रहेको बताउँदै राम्रो नतिजाकै लागि नेपालविरुद्ध खेल्ने बताएका छन् । लाओसका कप्तान सौकाफोन भोङ्चियाङखामले प्रतियोगिताका लागि पहिलो पटक नेपाल आउँदा खुशी लागेको बताउँदै प्रतियोगिताका लागि उत्साहित रहेको बताए । उनले प्रतियोगितामा लाओसको फुटबल देखाउने बताए ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।त्यसअघि चैत ११ गते भुटान र लाओस भिड्ने छन् । त्यस्तै चैत १४ गते नेपाल र भुटान भिड्ने छन् ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् ।

प्रतियोगितामा एन्फाले दुई फरक टिकट मूल्य राखेको छ । सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार टिकट दर राखिएको एन्फाले जनाएको छ । टिकट खल्ती एपबाट किन्न सकिनेछ । प्रतियोगिताको प्रत्यक्ष प्रशारण एनटिभी प्लसले गर्नेछ ।

नेपालले करिब ७ वर्षपछि लाओसविरुद्ध खेल्न लागेको हो । नेपालले पछिल्लो पटक २०१६ मा लाओससँग खेलेको थियो । फिफा वरीयतामा नेपाल लाओस भन्दा अघि रहेको छ । नेपाल १७५ औं स्थानमा रहेको छ । लाओस १८७ औं स्थानमा रहेको छ ।

हेड टु हेड –

एसियाली प्रतिद्वन्दी लाओस नेपालका लागि नौलो टोली हैन । नेपालले यस अघि दुई पटक लाओससँग प्रतिस्पर्धा गरिसकेको छ । जसमा नेपालले लाओसविरुद्ध हार व्यहोर्नु परेको छैन ।

नेपालले सन् २०१६ मा पहिलो पटक लाओसविरुद्ध खेलेको थियो । २०१६ को मे १६ मा नेपालले पहिलो पटक लाओसविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले लाओससँग १-१ गोलको बराबरी खेलेको थियो ।

नेपालले दोस्रो पटक २०१६ कै नोभेम्बर १२ मा लाओसविरुद्ध खेलेको थियो । एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपालले दोस्रो पटक लाओससँग प्रतिस्पर्धा गरेको थियो । जसमा २-२ गोलको बराबरीपछि नेपालले पेनाल्टीमा ३-० ले खेल जितेको थियो।

लाओसविरुद्ध नेपालको यो तेस्रो भेट हो । नेपाल आफ्नो जितको यात्रालाई कायम राख्न चाहन्छ । लाओस भने अघिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

Facebook Comments Box

Related posts