खेलकुद Football 

अर्जेन्टिनाको शानदार जित, मेस्सीको कीर्तिमानी प्रदर्शन

काठमाडौं

लिओनल मेसीले आफ्नो करियरको ८ सयौं गोल पूरा गर्दा विश्व विजेता अर्जेन्टिनाले शुक्रबार बिहान मैत्रीपूर्ण खेलमा पानमालाई २–० ले पराजित गरेको छ । गत डिसेम्बरमा कतारमा भएको विश्वकप उपाधि जितेपछि अर्जेन्टिनाले खेलेको यो पहिलो खेल हो ।

घरेलु मैदान ब्युनर्स आयर्समा भएको खेलमा अर्जेन्टिनाका लागि मेसी र युवा खेलाडी थिएगो अल्मडाले गोल गरे । अल्माडाले ७८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मेसीले ८९औं मिनेटमा फ्रिकिकबाट सुन्दर गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरेका थिए ।

अर्जेन्टिनाको राष्ट्रिय टिमका लागि मेसीको यो ९९औं गोल हो । उनले क्लब लेभलमा कूल ७०१ गोल गरेका छन् । उनले बार्सिलोनाका लागि ६७२ र पेरिस सेन्ट जर्मेनका लागि २९ गोल गरेका छन् ।

अर्जेन्टिनाका लागि एक सय गोल पूरा गर्नबाट मेसी एक गोलले टाढा छन् । अर्जेन्टिनाले अर्को खेल आउने मंगलबार कुराकाओसँग खेल्नेछ । मेसी करियरमा ८०० गोल पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ८३० गोल गरेका छन् ।

यसैबीच, कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएको खेलमा पोर्चुगलले सहज जित निकालेको छ । युरोकप छनोट अन्तर्गत बिहीबार राति पोर्चुगलले लिचेस्टाइनलाई ४-० गोल अन्तरले हराएको हो ।

पोर्चुगलको जितमा रोनाल्डोले दुई गोल गरे । खेलको आठौं मिनेटमा जोआ कान्सेलोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ४७ औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दा पोर्चुगल २-० ले अघि रह्यो । खेलको ५१ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दा पोर्चुगलको अग्रता तेब्बर बन्यो ।

त्यसपछि खेलको ६३ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ४-० ले विजयी भयो । यस खेलसँगै रोनाल्डो देशका लागि सर्वाधिक धेरै अन्तराष्ट्रिय खेल खेल्ने फुटबल खेलाडी बनेका छन् ।

रोनाल्डोको यो १ सय ९७ औं अन्तराष्ट्रिय खेल हो । उनी अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी समेत हुन् । रोनाल्डोले कीर्तिमानी १ सय २० गोल गरिसकेका छन् ।

रोनाल्डोले सन् २००४ बाट पोर्चुगलका लागि हरेक वर्ष लगातार गोल गरेका छन् । यस जितसँगै पोर्चुगलले पहिलो खेलमा ३ अंक जोडेको छ । पोर्चुगल समूह जे को शीर्ष स्थानमा रहेको छ ।

Facebook Comments Box

Related posts