खेलकुद Football 

पोर्चुगलको शानदार जित, रोनाल्डोले बनाए नयाँ कीर्तिमान

काठमाडौं

कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएको खेलमा पोर्चुगलले सहज जित निकालेको छ । युरोकप छनोट अन्तर्गत बिहीबार राति पोर्चुगलले लिचेस्टाइनलाई ४-० गोल अन्तरले हराएको हो ।

पोर्चुगलको जितमा रोनाल्डोले दुई गोल गरे । खेलको आठौं मिनेटमा जोआ कान्सेलोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ४७ औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दा पोर्चुगल २-० ले अघि रह्यो । खेलको ५१ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दा पोर्चुगलको अग्रता तेब्बर बन्यो ।

त्यसपछि खेलको ६३ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ४-० ले विजयी भयो । यस खेलसँगै रोनाल्डो देशका लागि सर्वाधिक धेरै अन्तराष्ट्रिय खेल खेल्ने फुटबल खेलाडी बनेका छन् ।

रोनाल्डोको यो १ सय ९७ औं अन्तराष्ट्रिय खेल हो । उनी अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी समेत हुन् । रोनाल्डोले कीर्तिमानी १ सय २० गोल गरिसकेका छन् ।

रोनाल्डोले सन् २००४ बाट पोर्चुगलका लागि हरेक वर्ष लगातार गोल गरेका छन् । यस जितसँगै पोर्चुगलले पहिलो खेलमा ३ अंक जोडेको छ । पोर्चुगल समूह जे को शीर्ष स्थानमा रहेको छ ।

Facebook Comments Box

Related posts