खेलकुद Football 

नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि, पायो लाखौं रुपैयाँ पुरस्कार

काठमाडौं

घरेलु टोली नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको फाइनलमा लाओसलाई २-१ गोल अन्तरले हराउँदै नेपालले उपाधि उचालेको हो ।

लोओसले बनाएको एक गोलको अग्रता उल्टाएर नेपाल च्याम्पियन बनेको हो । नेपालको जितमा आयुष घलान र मनिष डाँगीले एक एक गोल गरे । लाओसका फोउचाङभोङ साङ्भिले एक गोल गरे । खेलको १७ औं मिनेटमा फोउचाङभोङले गोल गर्दै लाओसलाई सुरुआती अग्रता दिलाएका थिए ।

उनले बौनफाचन बौनकौनले प्रहार गरेको बल मणि कुमार लामालाई लाग्दै सिक्स यार्ड बक्समा झरेको थियो । जसलाई नजिकै रहेका फोउचाङभोङले वान टचमा पोस्टको जाली चुमाए । तर खेलको २४ औं मिनेटमा आयुषले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याएका थिए । एरिक विष्टले उपलब्ध गराएको पासमा आयुषले सुन्दर गोल गरे ।

त्यसपछि खेलको ८७ औं मिनेटमा मनिषले गोल गर्दै नेपाललाई २-१ को जित दिलाए । अन्जन विष्टले उपलब्ध गराएको पासमा मनिषले उत्कृष्ट गोल गरे । त्यसबाहेक दुबै टोलीले गोलको थुप्रै अवसर गुमाएका थिए ।

खेलको चौथो मिनेटमा लाओसका वौनफाचन वौनकौङले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको बल पोस्ट माथिबाट बाहिरीएको थियो । खेलको १५ औं मिनेटमा लाओसका वौनफाचनको फ्रिकिक रोहित चन्दले हेडमार्फत क्लियर गरे ।

लगत्तै १८ औं मिनेटमा वौनफाचनकै प्रहार नेपालका गोलकिपर तथा कप्तान किरण चेम्जोङले डाइभ हान्दै जोगाए । खेलको २२ औं मिनेटमा नेपालका नवीन लामाको फ्रिकिकमा सनिश श्रेष्ठको हाफ भलि प्रहार सासाभाथले डाइभ हान्दै जोगाए । खेलको २६ औं मिनेटमा नेपालका नवीनको फ्रिकिकमा आयुषले गरेको प्रहार सासाभाथले जोगाए ।

खेलको ५६ औं मिनेटमा मनिष डाँगीको क्रसमा नेपालका आयुष र दिपक सिंह ठकुरीबीच तालमेल नमिल्दा लाओसका गोलकिपरले सहजै बल आफ्नो नियन्त्रणमा लिए । ५८ औं मिनेटमा नेपालका नविन लामाको कर्नरमा अनन्त तामाङको हेडर लाओसका माइकल भाङलाई लाग्दै गोल हुनबाट जोगिएको थियो ।

खेलको ६१ औं मिनेटमा नेपालका आयुष घलान गोल गर्न चुके । नवीनको पासमा खाली पोस्टमा अनमार्क रहेका आयुषको हेडर पोस्टमाथिबाट बाहिरिएको थियो । खेलको ६८ औं मिनेटमा पेनाल्टी बक्सको ठिक बाहिरबाट नेपालका निशान खड्काको फ्रिकिक पोस्ट बारमा लाग्दै फर्किएको थियो । ७४ औं मिनेटमा नेपालका नवीन लामाको पासमा अन्जन विष्टले प्रहार गरेका थिए ।

उक्त बल लाओसका गोलकिपरले सासाभाथले रोकेपछि आएको रिबाउन्डमा मनिष डाँगीले गोल गरेका थिए । तर उनी अफसाइड रहदा गोलले मान्यता पाएन । भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका थिए । नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर (६ लाख ५६ हजार नेपाली रूपैयाँ) पुरस्कार पाएको छ भने उपविजेताले २ हजार ५०० अमेरिकी डलर पुरस्कार पाएको छ ।

Facebook Comments Box

Related posts