खेलकुद Cricket 

चेन्नईमाथि गुजरातको शानदार जित, दोहोर्‍यायो इतिहास

काठमाडौं

१६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उद्घाटन खेलमा साबिकको विजेता गुजरात टाईटन्सले जितका साथ सुखद सुरुआत गरेको छ। गुजरातले सुखद सुरुआत गर्ने क्रममा चेन्नाई सुपर किंग्सविरुद्धको अपराजित यात्रालाई जारी राखेको छ ।

आईपीएलको इतिहासमा यि दुईबीच भएको तीन खेलमा गुजरात अपराजित रहेको छ। अहमदाबादमा रहेको विश्वको नै ठूलो क्रिकेट स्टेडियममा भएको खेलमा घरेलु टोलीले पाहुना टोली चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको हो ।

चेन्नाईले दिएको १ सय ७८ रनको लक्ष्य गुजरातले १९ ओभर २ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । चेन्नाईका लागि ओपनर शुभमन गिलले ३६ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ६३ रनको अर्धशतकीय ईनिङ खेले ।

रिद्धिमान शाहले १६ बलमा २५ तथा विजय शंकरले २१ बलमा २७ रन बनाए । इम्प्याक्ट प्लेयरका रुपमा केन विलियम्सको स्थानमा मौका पाएका साई सुदर्शनले २२ रन बनाए । राशिद खानले ३ बलमा अविजित १० तथा राहुल तेवातियाले १४ बलमा अविजित १५ रन बनाए ।

चेन्नाईका लागि आजकै खेलमा आईपीएल डेब्यु गरेका राजवर्धन हांगर्गेकरले ३ तथा तुसारदेश पाण्डे र रविन्द्र जडेजाले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनाएको हो ।

पाहुना टोलीका लागि ओपनर ऋतुराज गायकवाडले ५० बलमा ४ चौका र ९ छक्काको सहयोगमा ९२ रनको अर्धशतकीय ईनिङ खेले । मोइन अलिले २३ रन बनाउँदा शिबम दुवेले १८ बलमा १९ रन बनाए । कप्तान महेन्द्रसिंह धोनीले ७ बलमा १४ रन बनाउँदा अम्बादी राईडुले १२ रन बनाए ।

घरेलु टोलीका लागि मोहम्मद सामी,अल्जारी जासेफ र राशिद खानले समान २/२ तथा जोश लिटिलले १ विकेट लिए ।

आयरल्यान्डका बलर लिटिलले आज नै आईपीएलमा डेब्यु गरेका थिए । लिटिल आईपीएल खेल्ने पहिलो आयरल्यान्डका पहिलो क्रिकेटर समेत हुन् ।

पहिलो खेलमा जित हात पारेको गुजरात १० टोली सहभागी रहेको प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ । हारसँगै चेन्नाई सुपर किंग्स दोस्रो स्थानमा रहेको छ ।

भारतका विभिन्न शहरमा आयोजना हुने आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता छ। १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा मुम्बई इन्डियन्स, कोलकत्ता नाइटराइडर्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र लखनाउ सुपर जायन्ट्स रहेका छन्। समूह ‘बी’ मा चेन्नई सुपर किंग्स, सनराईजर्स हैदरावाद, गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंग्लोर र पन्जाब किंग्स रहेका छन्।

आफ्नो समूहमा रहेका सबै टोलीसँग र अर्को समूहमा सोही नम्बरमा रहेका टोलीसँग समान २/२ तथा अर्को समूहका बाँकी टोलीसँग १/१ खेल हुनेछ।यसका अनुसार लिग चरणमा हरेक टोलीले १४/१४ खेल खेल्नेछन्। ७४ खेल खेलिने आईपीएल आगामी २८ मेसम्म जारी रहनेछ।

Facebook Comments Box

Related posts