खेलकुद Cricket 

क्यानडामाथि यूएईको फराकिलो जित, रोमाञ्चक बन्यो प्लेअफ अंक तालिका

काठमाडौं

नामिबियामा जारी रहेको आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा क्यानडाविरुद्ध युएई ६ विकेटले विजयी भएको छ। क्यानडाले दिएको २ सय ५५ रनको लक्ष्य युएईले ४९ ओभरमा मात्रै ४ विकेट गुमाएर पूरा गर्‍यो।

युएईका लागि कप्तान मुहम्मद वासिम, रमिज शाहजाद र आर्यन लाक्राले अर्धशतक बनाए। वासिमले ७८ बलमा ८० रन बनाउँदा लाक्राले १ सय ९ बलमा ५३ रन बनाए। शाहजादले बलमा अविजित ५३, वृत्य अरबिन्दले २५ तथा रोहन मुस्ताफाले अविजित २० रन जोडे।

क्यानडाका लागि जेरिमाइ ग्रोडान, हर्ष थाकेर, निखिल दत्त र कप्तान साद विन जाफरले समान १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ४८ ओभर ५ बलमा अलआउट हुदै २ सय ५४ रन बनायो ।

क्यानडाका लागि प्रगत सिंहले ९६ बलमा १३ चौका र २ छक्काको सहयोगमा १ सय २ रन बनाए । क्यानडाका लागि आफ्नो पहिलो शतक बनाएका सिंहले ९२ बलमा शतक पूरा गरेका थिए । निकोलस क्रिटोनले ६४ बलमा ५० रनको अर्धशतकीय ईनिङ खेले । श्रीमन्था विजयारत्नेले २८ रन बनाउँदा कप्तान साद विन जाफरले १४ रन बनाए ।

युएईका लागि आयान खानले ३ तथा जुनेद सिद्दिकी र जाहोर खानले समान २/२ विकेट लिए । प्रतियोगितामा पहिलो हार व्यहारेको क्यानडा ४ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । तेस्रो खेलमा दोस्रो जित हात पारेको युएई अंक तालिकाको चौथो स्थानमा रहेको छ ।

प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ। प्लेअफमा आईसीसी विश्वकप लिग टू का पुछारका चार टोलीसँगै आईसीसी विश्वकप च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का विजेता राष्ट्रहरुको सहभागीता छ।

लिग टू मा नामिबिया चौथो, अमेरिका पाँचौं, युएई छैटौं र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफ खेलिरहेका छन्। प्लेअफमा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का विजेता जर्सी र क्यानडा पनि प्लेअफ खेलिरहेका छन्। सिंगल राउन्ड रोविनको आधारमा जारी प्रतियोगिताका शीर्ष दुई टोलीले जिम्बाब्वेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन्। विश्वकप छनोट खेलका लागि नेपाल भने छनोट भइसकेको छ।

प्लेअफ अंक तालिका

पीएनजी फेरि पराजित

नामिबियामा जारी रहेको आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगिताअन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्ध जर्सी ११ रनले विजयी भएको छ। शनिबार राति सम्पन्न खेलमा जर्सीले दिएको २ सय ९२ रनको लक्ष्य पछ्याएको पीएनजी पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २ सय ८० रन मात्रै बनाउन सक्यो।

उसका लागि कप्तान असद भाला, राइली हेकुरे र चार्ल्स अमिनीले अर्धशतकीय पारी खेलेपनि टिमलाई हारबाट जोगाउन सकेनन्। भालाले ७५, हेकुरेले ५८ र अमिनीले ५४ रनको पारी खेलेका हुन्। यस्तै, टोनी उराले २९, सेसे बाउले २६ र चाड सोपरले १३ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

फेरि तल्लोक्रमका ब्याटर नचल्दा पीएनजीले जित्नै लागेको म्याच हारेको हो। जर्सीका लागि जुलियस सुमेराउर, इलियट माइल्स, चार्ल्स पर्चार्ड र ह्यारिसन कार्लियोनले समान २/२ विकेट लिए। उसले एक विकेट रनआउटको रूपमा प्राप्त गर्‍यो।

त्यसअघि नामिबियाको विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिङ रोजेको जर्सीले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९१ रन बनाएको थियो। जर्सीको यो ओडिआईमा उच्च योगफल हो। यसअघि दोस्रो खेलमा नामिबियाविरुद्ध २ सय १३ रन बनाएको थियो।

उसका लागि जोश लरेन्सन र आस ट्रिबेले शतकीय पारी खेले। लरेन्सनले १०४ बलमा ११ चौका र दुई छक्कासहित १ सय १४ रन बनाए। एकदिवसीयमा उनको यो पहिलो शतक हो। त्यस्तै, ट्रिबेले १४३ बलमा ८ चौका र २ छक्काको मद्दतमा अविजित १ सय १५ रनको योगदान दिए। उनको पनि यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक हो।

लरेन्सन र ट्रिबेले तेस्रो विकेटका लागि २ सय ३२ रनको विशाल साझेदारी गरे। जर्सीका कुनैपनि खेलाडीले कुनैपनि विकेटका लागि गरेको यो नै ठूलो साझेदारी हो। पीएनजीका लागि चाड सोपर र सेमो कामियाले २/२ विकेट लिए। आजको हारबाट पीएनजीलाई विश्वकप छनोटमा स्थान बनाउन तथा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम गर्न कठिन रहेको छ। जारी प्रतियोगितामा पहिलो जित हात पारेको जर्सी २ अंकका साथ पाँचौँ स्थानमा रहेको छ।

Facebook Comments Box

Related posts