खेलकुद Cricket 

नेपाली क्रिकेट टिमसामु आयो ठूलो अवसर, हुनसक्छ फेरि विश्वभर चर्चा

काठमाडौं

दुई पटकको वानडे विश्वकप क्रिकेट विजेता वेष्ट इन्डिजले यसै वर्ष भारतमा हुने वान डे विश्वकपका लागि छनोट प्रतियोगिता खेल्नुपर्ने भएको छ । आईसीसीको १२ पूर्ण सदस्य र एसोसिएट राष्ट्र नेदरल्याण्ड्ससहित १३ टिम सम्मिलित सुपर लिगमा शीर्ष ८ मा पर्न असफल भएपछि वेष्ट इन्डिजले सिधै विश्वकप खेल्ने अवसर गुमाएको हो ।

दक्षिण अफ्रिकाले आइतबार राति नेदरल्याण्ड्सलाई १४६ रनले पराजित गर्दै सुपर लिगको आठौं स्थानमा उक्लिएपछि वेष्ट इन्डिजले विश्वकप छनोट खेल्ने पक्का भएको हो । सन् १९७५ को पहिलो र १९७९ को दोस्रो संस्करणको वान डे विश्वकप जितेको वेष्ट इन्डिजले लगातार दोस्रो पटक विश्वकप छनोट खेल्नुपर्ने भएको हो ।

२०१८ मा जिम्बावेमै भएको छनोटमा शीर्ष दुईमा रहेर वेष्ट इन्डिज २०१९ को विश्वकपमा छनोट भएको थियो । सुपर लिगको शीर्ष ८ मा रहने टिमले मात्र सिधै विश्वकपमा स्थान बनाउनेछन् । जसमा आयोजक भारतसहित न्युजिल्याण्ड, अष्ट्रेलिया, इंग्ल्याण्ड, पाकिस्तान, बंगलादेश र अफगानिस्तान सिधै छनोट भइसकेका छन् । अब एक स्थानका लागि दक्षिण अफ्रिकासँगै आयरल्याण्ड होडमा छन् ।

अर्को पूर्वविजेता श्रीलंकाले पनि छनोट खेल्ने पक्का भइसकेको छ । नेदरल्याण्ड्सलाई हराएपछि दक्षिण अफ्रिकाको ९८ अंक भएको छ र सुपर लिगको आठौं स्थानमा उक्लेको छ । आयरल्याण्डको ६८ अंक छ र बंगलादेशसँग तीन खेलको श्रृंखला खेल्न बाँकी छ ।

आयरल्याण्ड एक खेलमा पराजित भएमा दक्षिण अफ्रिका शीर्ष आठमा रहँदै सिधै विश्वकपमा छनोट हुनेछ । अब बंगलादेश र आयरल्याण्डबीच हुने सिरिजपछि मात्र सिधै विश्वकप खेल्ने थप एक टोलीको टुङ्गो लाग्नेछ । सुपर लिगका १३ टिममध्ये शीर्ष ८ टिमले सिधै विश्वकप खेल्नेछन् भने पुछारमा रहने पाँच टिमले विश्वकप छनोट खेल्नुपर्नेछ ।

त्यसमा वेष्ट इन्डिजसँगै, श्रीलंका, जिम्बावे र नेदरल्याण्ड्सले विश्वकप छनोट खेल्ने पक्का भइसकेको छ ।विश्वक प छनोट आगामी जुन-जुलाईमा जिम्बावेमै हुनेछ । जसमा चार टेष्ट राष्ट्र हुने पक्का छ । विश्वकप छनोटमा कुल १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । जसबाट फाइनल पुग्ने दुई टोली मात्र आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने विश्वकपमा छनोट हुनेछ ।

विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच टिम, आईसीसी क्रिकेट विश्वकप लिग टु को शीर्ष तीन टिम र क्वालिफायर प्लेअफको शीर्ष दुई टिम गरी कुल १० टिमले खेल्नेछन् । लिग टु को शीर्ष तीनमा रहँदै स्कटल्याण्ड, ओमान र नेपालले विश्वकप छनोटमा स्थान बनाइसकेको छ ।

हाल नामिबियामा भइरहेको क्वालिफायर प्लेअफबाट थप दुई टिमको टुङ्गो लाग्नेछ । लिग टु को पुछारमा रहेका चार टिम नामिबिया, अमेरिका, यूएई र पपुवा न्युगिनीसहित च्यालेन्ज कपको शीर्ष दुई टिम क्यानडा र जर्सीसहित ६ टिमले प्लेअफ क्वालिफायर खेलिरहेका छन् ।

विश्वकप छनोटमा चार टेष्ट राष्ट्रले पनि खेल्ने भएकोले नेपालजस्तो एसोसिएट राष्ट्रका लागि ठूलो टिमसँग खेल्ने यो राम्रो अवसर हुनेछ । चार टेष्टसहित बाँकी ६ एसोसिएट राष्ट्रले विश्वकपमा स्थान बनाउनका लागि प्रतिस्पर्धा गर्नेछन् ।

छनोटमा सहभागी हुने १० टिमलाई दुई समूहमा विभाजन गरिनेछ । जसले गर्दा दुवै समूहमा दुई-दुई टेष्ट राष्ट्र हुनेछन् । छनोट खेल्ने सबै टिमको टुङ्गो लागेपछि आईसीसीले समूह विभाजन गर्नेछ । त्यसपछि कुन टिमले कोसँग खेल्ने थाहा हुनेछ ।

Facebook Comments Box

Related posts