खेलकुद Cricket 

IPL – आईपीएलमा लगातार ५ छक्का हानेका रिन्कुको यस्तो छ ‘मनछुने’ विगत

काठमाडौं

आइपिएल २०२३ अन्तर्गत आइतबारको पहिलो खेलमा गुजरात टाइटन्सविरुद्ध कोलकता नाइटराइडर्सले जितका लागि अन्तिम ओभरमा २९ रन जोड्नु पर्ने अवस्था थियो। जितका लागि २०५ रनको लक्ष्य पछ्याएको कोलकताका शीर्ष सात ब्याट्सम्यान आउट भइसकेका थिए।

टी-२० को अन्तिम ओभरमा २९ रनको लक्ष्य चुनौतीपूर्ण त पक्का हो तर असम्भव भने होइन। यस्तो चुनौतीपूर्ण अवस्थामा कोलकताका २५ वर्षीय ब्याट्सम्यान रिन्कु सिंहले आफ्नो उत्कृष्ट ब्याटिङले असम्भवलाई सम्भव बनाए। उनले अन्तिम ओभर बलिङ गरिरहेका गुजरातका यश दयालको लगातार पाँच बलमा पाँच छक्का प्रहार गर्दै कोलकतालाई तीन विकेटको जित दिलाए।

त्यसअघि उनले १९औं ओभरको पाँचौ बलमा छक्का र छैटौं बलमा चौका प्रहार गरेका थिए। आफूले खेलेका पछिल्ला ७ बलमा रिन्कुले ४० रन जोडेसँगै कोलकताले २०५ रनको लक्ष्य अन्तिम बलमा पूरा गर्‍यो।

सिंहले सनसनीपूर्ण ब्याटिङ गरेसँगै १७औं ओभरमा कोलकताविरुद्ध गुजरातका रासिद खानले लिएको ह्याट्रिक समेत छाँयामा पर्‍यो। रासिदले १६.१ ओभरमा आन्द्रे रसेल, १६.२ ओभरमा सुनिल नारिन र १६.३ ओभरमा शार्दूल ठाकुरलाई आउट गर्दै ह्याट्रिक गरेका थिए। दुई ओभरपछि रिन्कु सिंहले खेलको नक्सा नै परिवर्तन गरिदिए र आइपिएलको एउटा अविस्मरणीय इनिङ खेले।

सिंह भारतको उत्तर प्रदेशको अलीगढमा जन्मिएका हुन्। ग्याँस विक्रेता बुबाका पाँच छोरामध्ये एक सिंह स्कुले जीवनमा रमाइलोका लागि क्रिकेट खेल्थे।

कोलकाता नाइट राइडर्सको वेबसाइटमा एउटा भिडियो सिंह भन्छन्, ‘बुबाले मलाई खेलमा समय खेर फाल्यो भनेर कुट्नुहुन्थ्यो। तर हामी दाजुभाइ मिलेर क्रिकेट खेल्थ्यौ।’ यसरी घरमै रमाइलोका लागि क्रिकेट खेलेका उनले स्थानीय स्तरमा राम्रो क्रिकेटरको परिचय बनाउदै गए।

स्थानीय एक प्रतियोगिता सिंहले उत्कृष्ट प्रदर्शन गरे। पुरस्कार स्वरुप मोटरसाइकल पाए। उनले त्यो मोटरसाइकल बुबालाई उपहार दिए ।अलीगढका व्यापारीहरूको घरमा ग्याँस सिलिण्डर पुर्‍याएर वर्षौंसम्म पनि बुबाले मोटरसाइकल किन्न सकेका थिएनन्। तर छोराले क्रिकेट खेलेर पाएको मोटरसाइकलले बुबालाई पनि खुसी बनायो। त्यसैले बुबाले क्रिकेट खेल्न छुट दिन थाले।

घरको आर्थिक स्तर राम्रो थिएन। त्यसैले सिंहलाई जागिर खानु पर्ने बाध्यता पर्‍यो। उनलाई एक कोचिङ सेन्टरमा भुइँ पुछ्ने काम मिल्यो। तर उनले त्यो काम धेरै दिनसम्म गर्न सकेनन्। ‘केही दिनमै मैले जागिर छाडेँ। मलाई यो मन परेन। मसँग पढाइ पनि थिएन। त्यतिबेला मलाई क्रिकेटमा मात्र ध्यान दिनुपर्छ भन्ने लाग्यो। मलाई क्रिकेटले मात्रै अगाडि लैजान सक्छ भन्न लाग्यो, किनभने मसँग अर्को विकल्प थिएन,’ उनले भने।

त्यसपछि उनी यू-१६ को लागि ट्रायलमा गए। तर उनलाई ट्रायलमा पास हुन के के गर्नु पर्छ भन्ने राम्रोसँग थाहा थिएन। उनी दुई पटकसम्म पहिलो राउन्डबाटै बाहिरिए। त्यसपछि उनलाई मसूद अमीनले प्रशिक्षण दिए भने मोहमद जीशानले आर्थिक सहयोग गरे। राम्रो प्रशिक्षक पाएपछि उनी उत्तर प्रदेशको युवा टिममा पर्न सफल भए। उत्तर प्रदेशको यू-१९ टिम लगत्तै उनले सिनियर टिममा स्थान बनाए।

२०१४ मा उनले उत्तर प्रदेशको टिममा डेब्यू गरेका थिए। उत्तर प्रदेशको टिमबाट राम्रो प्रदर्शन गरेपछि उनी सन् २०१७ मा आइपिएल टिम पञ्जाबमा छनोट हुन सफल भए। २०१८ मा कोलकाता नाइट राइडर्सले उनलाई ८० लाख भारूमा अनुबन्धन गर्‍यो। त्यतिबेला सिंहलाई कसैले चिन्दैनथ्यो, यद्यपी उत्तर प्रदेशका लागि घरेलु क्रिकेटमा उनी चर्चित भने थिए।

सिंह भन्छन्, ‘म अलीगढबाट आइपिएलमा पुग्ने पहिलो खेलाडी बनेँ। मैले यति पैसा पाएँ कि त्यति पैसा परिवारमा कसैले देखेको थिएन। घरका सबै समस्या समधान भए। जग्गा लिएर घर बनाए, ऋण चुक्ता गरेँ।’ आइपिएल टिममा स्थान बनाए पनि उत्कृष्ट प्रदर्शन गर्न भने समय लाग्यो। उनले केही अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्। आइपिएलमा आबद्ध भएको ६ वर्षपछि सिंहले आफ्नो क्षमतालाई प्रमाणित गर्ने अवसर पाए।

बायाँ हाते ब्याट्सम्यान र दायाँ हाते अफब्रेक बलर सिंहले एक दिन भारतका लागि क्रिकेट खेल्ने सपना देखेका छन्। तर यसका लागि उनले आइपिएल र घरेलु क्रिकेटको आफ्नो इनिङ्सलाई विस्फोटक इनिङ्समा परिणत गर्नुपर्नेछ। सिंहले २०१६ देखि उत्तर प्रदेशका लागि प्रथम श्रेणी क्रिकेट खेल्दै आएका छन् र उनले ५ शतक र १६ अर्धशतकको सहयोगमा २३०७ रन बनाएका छन्।

Facebook Comments Box

Related posts