खेलकुद Cricket 

नेपालले भारतमा हुने विश्वकप खेल्ने यस्तो छ बाटो

काठमाडौं

आगामी अक्टोबर र नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेट कम्तिमा दुई टेस्ट राष्ट्रले खेल्न पाउने छैनन् । विश्वकप छनोट प्रतियोगिता खेल्ने चार टेस्ट राष्ट्र र एसोसिएट ६ गरी १० टिमले विश्वकप छनोट प्रतियोगिता खेल्दैछन् । विश्वकप छनोट प्रतियोगिता जिम्बाब्वेमा आगामी जुन १८ देखि जुलाई ९ सम्म हुँदैछ ।

छनोट प्रतियोगिताका विजेता र उपविजेताले विश्वकप खेल्न पाउने छन् । जसमा एसोसिएट राष्ट्रले अविश्वसनीय प्रदर्शन गरे यो पटक दुईभन्दा बढी टेस्ट राष्ट्रले विश्वकप गुमाउने सम्भावना पनि छ । त्यसो त, दुई टेस्ट राष्ट्रले विश्वकप गुमाउने भने पक्का भइसकेको छ । आईसीसीले विश्वकप २०२३ मा १० राष्ट्रलाई मात्रै खेलाउने निर्णय गर्नु नै अहिले गलत सावित भइसकेको छ ।

विश्वकपमा सहभागी राष्ट्रको संख्या झन् बढाउनु पर्नेमा घटाउँदै लैजाँदा क्रिकेटमा गुणस्तरभन्दा त्यसले विनाश निम्तिन सक्छ । अर्को पक्ष यसले एसोसिएट राष्ट्रको स्तर माथि उठ्न नसक्ने तर्क पनि आउने गरेका छन् । हुन पनि एसोसिएट राष्ट्रले विश्वकप नै खेल्न नपाउने गरी बनाइएको नियमले क्रिकेटको भलो भने हुँदैन ।

विश्वकप छनोट प्रतियोगिता खेल्ने अब तीन टिमको टुंगो हुन बाँकी छ । तर, आयरल्यान्डले विश्वकप छनोट खेल्ने पक्काजस्तै भइसकेको हुँदा अब प्लेअफबाट आउने दुई टिमको मात्रै टुंगो लाग्न बाँकी हो । आईसीसी क्रिकेट विश्वकप लिग टुबाट स्कटल्यान्ड विजेता हुँदै, ओमान र नेपाल गरी तीन टिम विश्वकप छनोटमा पुगिसकेका छन् । नेपालले आफ्नो अन्तिम खेलमा यूएईलाई डीएल मेथडमा ९ रनले पराजित गर्दै विश्वकप छनोटमा सिधै स्थान बनाएको हो ।

यता, आईसीसी क्रिकेट विश्वकप सुपर लिगबाट टेस्ट राष्ट्र श्रीलंका, वेष्ट इन्डिज र जिम्बाब्वेले खेल्ने पक्का भइसकेको छ । त्यस्तै, नेदरल्यान्ड्सले पनि सुपर लिगबाट घटुवा हुँदै विश्वकप छनोट खेल्ने भएको हो । अब टेस्ट राष्ट्र दक्षिण अफ्रिका र आयरल्यान्डमध्ये एक टिमले नेपालसँगै विश्वकप छनोट खेल्नेछन् । दक्षिण अफ्रिका सिधै विश्वकपमा छनोट लगभग भइसकेको छ । आयरल्यान्डले पनि विश्वकप छनोट खेल्ने पक्का जस्तै भइसकेको छ ।

त्यस्तै, अहिले विश्वकप छनोटको प्लेफ प्रतियोगिता नामिबियामा जारी छ । प्लेअफबाट अमेरिका र यूएई विश्वकप छनोटमा पुग्ने सम्भावना बलियो छ । प्लेअफको शीर्ष स्थानमा अमेरिका रहँदा दोस्रो स्थानमा यूएई रहेको छ । अमेरिका र यूएईको समान चार खेलबाट समान ६ अंक छ । अब यी दुवै टिमले आ-आफ्नो अन्तिम खेलमा जर्सीसँग नै प्रतिस्पर्धा गर्नेछन् । जर्सी तुलनात्मक रूपमा कमजोर टिम भएकाले यी दुवै टिमले जित्न सक्ने छन् । यूएई र अमेरिका दुवै टिमले आ-आफ्नो अन्तिम खेलमा जित निकाले विश्वकप छनोटमा स्थान बनाउने छन् ।

आईसीसीले अहिले नै समूह विभाजन र खेल तालिका सार्वजनिक गरिसकेको छैन । तर, विश्वकप छनोटमा कूल ३४ खेल हुनेछन् । ५० ओभरको विश्वकप क्रिकेट खेल्ने नेपालको सम्भावना एकदमै न्यून छ । किनभने नेपाल पर्ने समूहमा दुई टेस्ट राष्ट्र हुनेछन् । नेपाल पर्ने समूहमा श्रीलंका, वेष्ट इन्डिज, जिम्बाब्वे र (आयरल्यान्ड वा दक्षिण अफ्रिका)मध्ये दुई टिम हुनेछन् । आयोजक भारतसँगै, अस्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश र अफगानिस्तान विश्वकपमा छनोट भइसकेका छन् ।

Facebook Comments Box

Related posts