खेलकुद Cricket 

ओमानमाथि नेपालको शानदार जित, तीन ब्याटरले बनाए अर्धशतक

काठमाडौं

आगामी वैशाख ५ देखि सुरु हुने एसिसी प्रिमियर कपअघि खेलिएको अभ्यास खेलमा नेपालले ओमानलाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको अभ्यास खेलमा नेपालले ओमानलाई ५ विकेटले पराजित गरेको हो।

ओमानले दिएको २४७ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४४.४ ओभरमा पूरा गर्‍यो। नेपालका लागि तीन ब्याट्सम्यानले अर्धशतक हिर्काए। अर्जुन साउद, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरेका हुन्। अर्जुनले ६७ रन जोड्दा रोहितले ५८ रन र दीपेन्द्रले ५९ रन जोडे।

अर्जुनसँग ओपनिङ गरेका देव खनाल १० रनमा आउट भए। ज्ञानेन्द्र मल्लले १५ रन र कुशल मल्लले ८ रन बनाए भने सन्दीप जोरा ११ र भीम सार्की १ रनमा नटआउट रहे। बलिङमा ओमानका कप्तान जिशान मकसुदले २ विकेट लिए ।

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाउँदै २४६ रन जोडे। ओमानका लागि शोएब खानले शतक प्रहार गरे। उनले नटआउट ११० रन जोडे। बलिङमा नेपालका किशोर महतोले ३ विकेट लिए। प्रतिश जिसी र सूर्य तामाङले २-२ विकेट लिए।

एसिसी प्रिमियर कप वैशाख ५ देखि १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुँदैछ। नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।

नेपालले पहिलो खेल मलेसियासँग वैशाख ५ मा त्रिवि मैदानमा खेल्नेछ। यस्तै दोस्रो खेल ओमानसँग वैशाख ८ मा त्रिविमा, तेस्रो खेल मुलपानी मैदानमा साउदी अरेबियासँग वैशाख ११ गते र अन्तिम खेल वैशाख १४ गते कतारसँग त्रिवि मैदानमा खेल्नेछ।

समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ भने भारत र पाकिस्तान रहेको समूहमा प्रतिस्पर्धा गर्नेछ।

एसिया कपमा एसियाका ५ टेस्ट राष्ट्र र एसिसी प्रिमियर कपको विजेताबीच प्रतिस्पर्धा हुनेछ। एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता तथा समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।

Facebook Comments Box

Related posts