खेलकुद Cricket 

नेपाललाई टेष्ट राष्ट्र बनाउन मोन्टीले निकाले यस्तो जुक्ति

काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले नेपाली टिमलाई भारत र रणजी ट्रफी खेल्न अनुमति दिनुपर्ने बताएका छन् । नेपालको प्रशिक्षक बनेपछि आईसीसी क्रिकेट विश्वकप लिग टु मा १२ मध्ये ११ खेल जिताएर नेपाललाई विश्वकप क्वालिफायरमा छनोट गराएपछि देसाइले क्रिकेट सम्बन्धी अनलाइन क्रिकबजसँग कुराकानी गर्दै नेपाललाई भारतमा खेलाउने धारणा व्यक्त गरेका हुन् ।

देसाइले यसबारे बीसीसीआईका सचिव तथा एसीसीका अध्यक्ष जय शाहलाई भनेको समेत बताएका छन् । उनले नेपालसँगै खेल्न सुरु गरेको अफगानिस्तानसहित सबै छिमेकी राष्ट्र टेस्ट मान्यता प्राप्त गरिसकेको बताउँदै उनले भनेका छन्, ‘मैले आईसीसी र जय भाइलाई यसबारे भनेको छु । जब स्कटल्यान्ड र आयरल्यान्डका खेलाडीले इंग्ल्यान्डमा खेल्छन्, हाम्रो टोलीलाई भारत र रणजी ट्रफी खेल्न अनुमति दिनुपर्छ ।

उनले भारत र रणजी ट्रफी खेल्न पाए नेपाल चार वर्षमा टेष्ट खेल्ने राष्ट्र हुने उनको दाबी छ । भारतको पहिलो श्रेणीको क्रिकेट प्रतियोगिता रणजी ट्रफीमा ३८ टोलीले प्रतिस्पर्धा गर्छन् । यहफ गरेको प्रदर्शनका आधारमा भारतको टेष्ट टोलीमा मान्यता बनाउनेछन् ।

यस्तै नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालले ठूला टोलीलाई आमन्त्रण गर्न गाह्रो हुने बताउँदै आईसीसी र एसीसीलाई पत्र लेखेको बताएका छन् । ‘हामी ठूला टोलीहरूलाई आमन्त्रित गर्न सक्दैनौं । मैले मद्दतको लागि आईसीसी र एसीसीलाई पत्र लेखेको छु । उनीहरूले हामीलाई फन्डिङ र कोचिङको ज्ञानमा मद्दत गर्नुपर्छ,’ उनले भनेका छन् ।

चन्दले बीसीसीआईसँग मद्दत मागेको क्रिकबजसँगको कुराकानीमा खुलाएका छन् । पछिल्लो समय नेपालले सफलता हात पारेपछि अहिले सरकार लगायत सबै पक्ष पूर्वाधार बनाउनका लागि दबाबमा रहेका चन्दले बताएका छन् ।

उनले अघि भनेका छन्, ‘हामी सबै डेलिभर गर्न दबाबमा छौं र हामीले पहिले नै महसुस गरिरहेका छौं । सरकारलाई पनि रंगशाला बनाउन दबाब छ । हामीसँग ठोस पूर्वाधार छैन । हामीसँग आईसीसी मापदण्डको एक मात्र एकदिवसीय मैदान छ ।’

पारस आवद्ध एसिया लायन्स बन्यो च्याम्पियन

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का आवद्ध एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिग मास्टर्सको उपाधि जितेको छ। सोमबार राति सप्पन्न फाइनमा एसियाले वर्ल्ड जायन्ट्सलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको हो।

जायन्ट्सले दिएको १ सय ४८ रनको लक्ष्य एसियाले १६.१ ओभरमा मात्रै ३ विकेट गुमाउँदै पूरा गर्‍यो। एसियाको जितमा ओपनर तिलकरत्ने दिलशान र उपुल थरंगाले शानदार ब्याटिङ गरे। दिलशानले ४२ बलमा ८ चौकासहित सर्वाधिक ५८ जोड्दा उपुलले २८ बलमा ५ चौका र ३ छक्कासहित ५७ रनको योगदान दिए।

पहिलो विकेटका लागि थरंगा र दिलशानले १ सय १५ रनको शतकीय साझेदारी गरेका थिए। यस्तै, मिस्बाह उल हक र मोहम्मद हफिज ९-९ रनमा अविजित रहे। जायन्ट्सका लागि ब्रेट ली, स्मित पटेल र मोन्टी पनेसारले एक/एक विकेट लिए।

त्यसअघि कतारको दोहास्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जायन्ट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४७ रन बनायो।

उसका लागि ज्याक कालिसले उत्कृष्ट ब्याटिङ गरे। उनले ५४ बलमा ५ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक नटआउट ७८ रनको योगदान दिए। यस्तै, रस टेलरले ३२ र लेन्डल सिमन्सले १७ रन बनाउँदा कप्तान शेन वाटसन र मोर्ने भ्यान विक शून्य रनमा आउट भए। पउल कलिङवुड ६ रन जोड्दा समित पटेल ३ रनमा अविजित रहे।

एसियाका लागि अब्दुर रज्जाकले २ र थिसारा परेराले १ विकेट लिए। एसियाले एक विकेट रनआउटको रूपमा लियो। फाइनल खेलमा पनि पारसले प्लेइङ–११ मा मौका पाएका छन्। तर, पारसले आज पनि बलिङ र ब्याटिङ गर्न पाएनन्।

इलिमिनेटर खेलमा इन्डियन महाराजसलाई पराजित गर्दै एसिया लायन्सले फाइनलमा स्थान बनाएको थियो। वर्ल्ड जायन्ट्स भने समूह चरणको शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो।

समूह चरणको दुई खेलमा लायन्स र जायन्ट्सबीचको खेलमा १ खेलमा लायन्स तथा १ खेलमा जायन्ट्स विजयी भएका थिए। फाइनलमा एसियाको शाहिद अफ्रिदी र जायन्ट्सको शेन वाटसनले कप्तानी गरिरहेका थिए।

पारस प्रतियोगिताभर ६ खेलमध्य ५ खेलमा मौका पाए। तर उनले दुई खेलमा मात्रै ब्याटिङ गर्ने अवसर पाएका थिए। पहिलो खेलमा इन्डिया महाराजसविरुद्ध २ बलमा अविजित३ रन र जायन्ट्सविरुद्ध दोस्रो खेलमा १० बलमा ८ रन जोडेका थिए। प्रतियोगितामा उनले एक क्याच लिएका थिए। इन्डिया महाराजसविरुद्ध दोस्रो खेलमा भने पारस टोलीमै परेका थिएनन्। ब्याटिङ र बलिङमा त्यति मौका नपाएका पारसले फिल्डिङ भने उत्कृष्ट गरेका थिए।

Facebook Comments Box

Related posts